विकलचन्द्र आचार्यको ‘बेलायतको वित्तीय अवलोकन’ सार्वजनिक

लामो समयदेखि बेलायतमा बस्दै आएका अर्थ व्यवस्थापनका जानकार विकलचन्द्र आचार्यको पुस्तक ‘बेलायतको वित्तीय अवलोकन’ सार्वजनिक गरिएको छ । 

बेलायतको वित्तीय सामर्थ, बैंकिङ इतिहास, बैंकको संरचना तथा कार्यविधि, पाउन्ड स्टर्लिङको अवस्था, सम्पत्ति शुद्धिकरण, बिमा, ब्रेक्जिट, औद्योगिक क्रान्तिको शिक्षा, लन्डन स्टक मार्केट लगायत वित्तीय क्षेत्रका विविध विषय समाबेश पुस्तक  राष्ट्रिय योजना आयोगका पूर्वअध्यक्ष एवं पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले विमोचन गरे । 

 

सन् १९७० को दशकमा प्रधानमन्त्री मार्गरेट थ्याचरको निजीकरण नीतिसँगै पुनस् जुर्मुराएको बेलायत त्यसयता विभिन्न सामग्री उत्पादन, कृषि, प्राकृतिक स्रोत, वित्त व्यवस्थापन लगायत विषयमा केन्द्रित भएको सन्दर्भ मा नेपालले पनि बेलायतबाट सिक्न सक्ने सन्दर्भ पुस्तकमा समेटिएको छ । 

पुस्तक विमोचन गर्दै प्रमुख अतिथी क्षेत्रीले पुस्तक धेरै नै उपयोगी र सूचनामूलक भएको बताए ।  ‘देश बाहिर रहेर बसेर पनि मातृभूमिलाई यत्तिको योगदान दिन सक्नु ठूलो कुरा हो ’ उनले भने  ।  

बेलायतले कसरी आफ्नो अर्थतन्त्रलाई स्थिर राख्न सफल रह्यो भन्ने कुरा पक्कै पनि नेपालले पनि सिक्न सक्छ भन्ने बुझेर आफूले  विभिन्न समयमा लेखेको लेखहरुलाई पुस्तकको आकार दिएको लेखक आचार्यले बताए । उनले  थपे,  ''बेलायतको वित्तीय अवधारणा समेटेर लेखिए पनि नेपाली सन्दर्भ जोडेको छु । ''

राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले पुस्तकमाथि टिप्पणी गरेका थिए । 

बेलायतको प्रतिष्ठित प्राइभेट स्कुल आर्डिङलाए कलेजमा छात्रवृत्ति पाएर वि. सं २०५० मा बेलायत पुगेका लेखक शिक्षा, साहित्य तथा स्वास्थ्य क्षेत्रमा कलम चलाउँदै आएका छन् ।

यसअघि आचार्यका लन्डनमा मुटु दुख्दा, कोरोनरी मुटुरोग, बेलायती आँगनमा गोर्खाली सुवास र मोह गरी चार कृति प्रकाशित भइसकेका छन् ।

व्यवस्थापन विषयबारे लामो अनुभव संगालेका लेखक ब्रिटिस मेडिकल जर्नालिष्ट एशोसिएसनका सदस्य समेत हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?