कोपा अमेरिका फुटबल खेलमा, अर्जेन्टिना स्तब्ध

एजेन्सी।  लियोनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गतको आफ्नो पहिलो खेलमा कोलम्बियासँग २–० गोल अन्तरले पराजित भएको छ । 

विगत २० वर्षमा पहिलो पटक कोलम्बियासँग अर्जेन्टिना पराजित भएको हो । यस खेलमा कोलम्बियाका लागि रोजर मार्टिनेज र डुभान जापाटाले खेलको उत्तरार्धमा गोल गरेका थिए । 
खेलमा पराजित भएपछि प्रतिक्रिया दिँदै मेस्सीले कोलम्बियासँग पराजित हुँदा दुःख लाग्नु स्वाभाविक भएको बताए ।

उनले अर्जेन्टिनाले गोल गर्ने अवसर पाएको तर त्यसलाई गोलमा परिणत गर्न नसकेको बताए । अर्जेन्टिनी टिममा विश्वप्रसिद्ध फुटबल खेलाडी रहेका छन् । स्पेनी क्लब बार्सिलोनाका फर्वार्ड समेत रहेका मेस्सी सहित म्यान्चेस्टर सिटीका फर्वार्ड सर्जियो अग्वेरो र पेरिस सेन्ट जर्माइनका फर्वार्ड एन्जेल डी मारिया पनि अर्जेन्टिनी अग्रपंक्तिमा थिए ।

खेलपछि अग्वेरोले हामीले यस्तो शुरुआत चाहेका थिएनौं भने । अर्जेन्टिनी आक्रमणलाई कोलम्बियाका गोलरक्षक डेभिड ओस्पिनाले निस्तेज पारेका थिए । कूल १२ टिम सहभागी रहेको कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत समूह ख मा अर्जेन्टिना सहित कोलम्बिया, पाराग्वे र कतार रहेका छन् ।

समूह क मा भने ब्राजिल, पेरु, भेनेजुएला र बोलिभिया तथा समूह ग मा उरुग्वे, चिली, जापान र इक्वेडर रहेका छन् । कोपा अमेरिका फुटबल प्रतियोगिता यो सहित ब्राजिलमा पाँचौं पटक हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?