केन्याको आर्थिक वृद्धि ६ दशमलव ३ प्रतिशत

एजेन्सी । केन्याको अर्थतन्त्र सन् २०१९ मा करिब ६ दशमलव ३ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।

सरकारी अधिकारीहरुका अनुसार यो वृद्धि सन् २०१८ कै हाराहारी हो । केन्याका अर्थमन्त्री हेनरी रोटिचले विश्वको बदलिँदो आर्थिक परिदृश्यमा समेत केन्याको आर्थिक वृद्धि स्थिर रहनु सकारात्मक रहेको बताए । उनले सन् २०१८ कै हाराहारीमा सन् २०१९ को आर्थिक वृद्धि हुनु निकै राम्रो हो भने । 

केन्यामा मौसम खराब रहेका कारण कृषि उत्पादनमा निकै ठूलो असर पर्ने अवस्था देखिएको चर्चा गर्दै अर्थमन्त्री रोटिचले यसबाट हुने जोखिमलाई न्यूनीकरण गर्न अन्य उपायहरु अपनाइने बताए । उनले कृषिका असरलाई पर्यटन र निर्माणका कार्यबाट भरथेग गरिने बताए ।

आर्थिक वर्ष सन् २०१९–२०२० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री रोटिचले अघिल्लो वर्ष करिब ४ दशमलव ९ प्रतिशत रहेको आर्थिक वृद्धिमा सुधार आई सन् २०१८ मा ६ दशमलव ३ प्रतिशत पुगेको बताए । यो वृद्धि विगत आठ वर्षयताकै सबैभन्दा बढी हो र सहारा उपक्षेत्रका मुलुकको औसत ३ प्रतिशतको भन्दा झण्डै दोब्बर हो, अर्थमन्त्री रोटिचले बताए । उनले केन्याको अर्थतन्त्रलाई विविधिकरण र सुधारतर्फ अघि बढाइएको पनि बताए ।

अर्थमन्त्री रोटिचले सबैका लागि स्वास्थ्य, उत्पादन, खाद्य सुरक्षा जस्ता कार्यक्रमका कारण केन्याको आर्थिक वृद्धि ७ प्रतिशतभन्दा माथि पुग्ने अनुमान पनि गरिएको बताए ।
उनले नयाँ प्रस्तावित बजेटले स्थानीय व्यवसायिक वातावरण तयार गर्न निकै ठूलो मद्दत गर्ने जानकारी दिए । केन्या स्वतन्त्र भएयता रोटिचले पेश गर्नुभएको यो सबैभन्दा ठूलो बजेट हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?