नेपाल क्यारिकेचर २०७६ प्रदर्शनी उद्घाटन तथा पुरस्कार वितरण समारोह सम्पन्न (भिडियोसहित)

काठमाडौं । नेपाल क्यारिकेचर २०७६ प्रदर्शनी उद्घाटन तथा पुरस्कार वितरण समारोह आज(बिहीवार) सम्पन्न भएको छ । कार्टुनिस्ट क्लब नेपाल र ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा बबरमहलस्थित नेपाल कला प्रतिष्ठानमा कार्यक्रम आयोजना भएको हो । 

प्रदर्शनीमा राजेश हमाल, करिश्मा मानन्धर जस्ता कलाकारदेखि राष्ट्रियकवि माधवप्रसाद घिमिरे, गायक जेबी टुहुरे, राजेशपायल राई लगायत विभिन्न सामाजिक व्यक्तित्वको कार्टुन चित्र राखिएको छ । प्रदर्शनीमा राखिएको कार्टुनमध्ये विरोचन मल्लले बनाएको राजेशपायल राईको कार्टुन चित्र उत्कृष्ट घोषित भयो । त्यस्तै नीति श्रेष्ठ र महेश बस्ताकोटी क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भए । प्रथम भएका मल्ललाई आयोजकले २० हजार पुरस्कारराशी सहित दोसल्ला ओढाएर सम्मान गरेको छ भने दोस्रो र तेस्रो हुनेलाई क्रमशः १५ हजार र १० हजार पुरस्कारराशी प्रदान गरेको छ । 

कार्यक्रमका सभाध्यक्ष तथा नेपाल कार्टुनिस्ट क्लबका अध्यक्ष अवीन श्रेष्ठले कार्यक्रममा बाल्दै यस्तो कार्यक्रमले कलाकारहरुलाई थप प्रोत्साहन दिएको र कार्टुन क्षेत्रमा युवा वर्ग खुलेर अगाडि आउन मद्दत पुगेको बताएका छन् ।

नेपाल कार्टुनिस्ट क्लबले कार्टुन क्षेत्रको विकास र युवाहरुको संलग्नतालाई मध्यनजर गर्दै विगत ३ वर्षदेखि यस्तो प्रदर्शनी आयोजना गर्दै आएको छ । नेपाली क्यारिकेचर प्रदर्शनीको यो तेस्रो संस्करण हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?