बन्दरगाह निर्माणमा भारतीय पक्षले चासो देखाएन

काठमाडौं । नेपालगञ्ज नाकामा रहेको निर्माणाधीन सुक्खा बन्दरगाहाको निर्माणको  काममा  भारतीय पक्षले चासो नराख्दा काम ठप्प रहेको छ ।
 
सुक्खा बन्दरगाहबाट आवश्यक जग्गा अधिग्रहण गर्ने कार्य नेपालका तर्फबाट भैसकेको र उक्त निर्माण कार्य लामो समयदेखि ठप्प हुदै आएको छ । नेपाल सरकारले बन्दरगाहसम्मको २ हजार ७ सय मिटर पहुँचमार्ग पनि (जुन निर्माणस्थलदेखि नेपालगञ्जको चौलिकासम्मको दुरी हो) निर्माण गरिसकेको छ । 

संघिय आयोजना कार्यान्वयन एकाई कार्यालयका ईञ्जिनीयर होमनाथ भुसालका अनुसार पहँुचमार्ग निर्माणकार्य नेपालका तर्फबाट पुरा भैसकेको र भारतले गर्नुपर्ने काम बाँकी रहेको छ । 

यस्तै यो आर्थिक वर्षमा कुनैपनि कार्य नभएको र बोलपत्रको प्रक्रियामा पछिल्लो पटक भारतीय अधिकारीहरुले जाहेर गरेको जानकारी पाएको भुसालले बताए । उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्णप्रशाद श्रेष्ठले भारतमा निर्वाचनका कारणले ढिलाइ भएको र निर्वाचन सकिसकेकाले अब छिट्टै काम प्रारम्भ हुने कुरा बताए ।

यसै विषयलाई लिएर केन्द्रमा बारम्बार व्यापक छलफल भइरहेको पनि केन्द्रिय सदस्य श्रेष्ठले बताए । बन्दरगाह सञ्चालन भए आयात तथा निर्यात सहज हुने र जडिवुटी र उतपादन निर्यात गर्न सरल तथा सहज हुने वताइएको छ । 

तर उक्त निर्माण कार्यले गति लिन नसक्दा उद्योग व्यवसायि तथा स्थानिय चिन्तीत बनेका छन् । सरकारले आर्थिक वर्ष २०६५ र ६६ मा बन्दरगाह निर्माणका लागि ८९ बिघा जमीन अधिग्रहण गरे पनि निर्माणकार्यले गति लिन नसक्दा उक्त बनदरगाह गौचरन जस्तै बनेको छ । अहिलेसम्म कार्य शुरु हुने संकेत नदेखिएपछि अन्तिममा भारतले काम अलपत्र पार्ने होकी भन्ने व्यवसायिहरुले जनाएका छन् ।

नेपाल जडीबुटी व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष मोहम्मद याकुव अन्सारीले सुक्खा बन्दरगाह निर्माणमा देखिएको ढिलाइ र अन्योलताले जडीबुटी व्यवसायी निकै दुखी भएको जनाउँदै सरकारले छिटोभन्दा छिटो निर्माणकार्य सञ्चालन गर्न भारतसँग तत्काल पहल गर्नुपर्ने बताए । उनले सुक्खा बन्दरगाह निर्माणपछि यहाँका व्यवसायीलाई सरल र सहज हुने कुरा बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?