भूकम्पले भत्किएको पुनःनिर्माणपछि विद्यालय भवन हस्तान्तरण

भक्तपुर, १२ पुस । सूर्यविनायक नगरपालिका–८ नैचालस्थित सरस्वती आधारभूत निम्न माध्यामिक विद्यालयको नयाँ भवन हस्तान्तरण गरिएको छ ।

भूकम्पले भत्किएको उक्त विद्यालयको भवन मानवीय आस्था नेपालले पुनःनिर्माण गरेको हो । नवनिर्मित विद्यालय भवन मानवीय आस्था नेपालको संस्थापक संरक्षक एवं प्रतिनिधिसभा सदस्य महेश बस्नेतले विद्यालय परिवारलाई हस्तान्तरण गरेका हुन् ।

मानवीय सहयोग र भक्तपुरको विकास गर्ने उद्देश्यले भूकम्प गएको भोलिपल्ट अर्थात् २०७२ वैशाख १३ गते संरक्षक बस्नेतको नेतृत्वमा स्थापना भएको उक्त संस्थाले रु ६५ लाखको लागतमा विद्यालयको चारकोठे भवन निर्माण गरेर हस्तान्तरण गरेको उनले बताए ।

नयाँ विद्यालय भवनमा पढ्न पाउँदा यहाँका विद्यार्थीमा खुसी छाएको बताउँदै बस्नेतले यस्तो खुसी गाउँगाउँमा पु¥याउने बताए । युवालाई रोजगारी, सीप नभएका महिलालाई सीप, गाउँ गाउँमा स्कुल र स्वास्थ्य चौकीदेखि सडक, खानेपानी र ढलका लागि आफ्नो योगदान रहिरहने उनको भनाइ थियो कार्यक्रममा प्रदेशसभा सदस्य शशिजंग थापाले अब भक्तपुरमा जनतालाई कुनै पनि कुराको अभाव हुन नदिने गरी विकासका लागि लागिरहने बताए ।

मानवीय आस्था नेपालले विद्यालयलाई रु पाँच लाख बराबरको बेन्च, डेक्स, पुस्तकालयलगायतका भौतिक सामग्री प्रदान गरेको संस्थाका अध्यक्ष श्रीकुमार रञ्जितले जानकारी दिए ।

त्यसका साथै ३० जना विद्यार्थीलाई मासिक रु एक हजार ५०० का दरले छात्रवृत्ति वितरण गरेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?