‘कपाल पाल्दैमा कसुरदार हुन्न’

काठमाडौँ, १२ पुस- राजीखुसीले कपाल पाल्ने, बाट्ने र मुन्द्री लगाउने पुरुषलाई प्रहरीले पक्राउ गरी सास्ती दिन नपाउने भएको छ । यस्ताव्यवहार ‘वैयक्तिक स्वतन्त्रता’ मा पर्ने भन्दै सर्वोच्च अदालतले जोरजबर्जस्ती नगर्न प्रहरीका नाममा आदेश दिएको खबर कान्तिपुरले छापेको छ प्रहरीले ‘चुल्ठेमुन्द्रे’ लाई पक्राउ गरी जबर्जस्ती कपाल काटिदिने, मुन्द्री निकालिदिने गर्न थालेपछि त्यसविरुद्ध सर्वोच्चमा मुद्दा परेको थियो तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र ओमप्रकाश मिश्रको संयुक्त इजलासले गरेको फैसलाको पूर्णपाठमा लबज, वेशभूषा र पहिरनका आधारमा मात्रै मानिसलाई अपराधको सम्भावित कसुरदारका रूपमा व्यवहार गर्न नहुने उल्लेख छ । ‘जुँगा, कपाल पालेको वा मुन्द्रा लगाएका आधारमा कुनै व्यक्तिलाई पक्राउ र दुव्र्यवहार गर्नु हुँदैन,’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘त्यस्ता व्यक्तिलाई उनीहरूको आत्मसम्मानमा धक्का पुग्ने गरी कपाल काट्ने, जुँगा काट्ने, मुन्द्रा झिक्न लगाउनेलगायत व्यवहार नगर्न/नगराउन मातहत कार्यालयमा समेत लेखी पठाउने गरी आदेश जारी गरिदिएको छ ।’महानगरीय प्रहरी परिसरका तत्कालीन प्रमुख एसएसपी विक्रमसिंह थापाले काठमाडौंमा कपाल पाल्ने र मुन्द्री लगाउनेहरूलाई पक्राउ अभियान चलाएका थिए । मातहत कार्यालयमा पनि यस्तै सर्कुलर गरिएको थियो । यस्तो कामले व्यक्तिको स्वतन्त्रता हनन भएको दाबी गर्दै कानुन विद्यार्थी समाजका सदस्य विकल्प राजभण्डारी र अधिवक्ता सुभास लामिछानेले सर्वोच्चमा निवेदन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?