सरकार गठनमा यसकारण फोरम निर्णायक

काठमाडौं, ११ पुस- वाम गठबन्धनले दुईतिहाइनजिक बहुमत पाए पनि सत्तारोहणमा संघीय फोरम निर्णायक देखिन थालेको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले १६ सांसद रहेको यही पार्टी देखाउँदै एक-अर्कालाई दबाबमा राख्न खोजिरहेका छन् ओलीले फोरम अध्यक्ष उपेन्द्र यादवसँग यसै विषयमा चरणबद्ध कुराकानी गरेको बालकोट र फोरम दुवै स्रोतले पुष्टि गरे । ओलीनिकट नेताहरूले भने संसद्मा नवनिर्वाचित पाँच राष्ट्रिय पार्टीमध्ये जोकसैसँग छलफल हुनु स्वाभाविक रहेको भन्दै ओली-यादव भेटको बचाउ गरे ‘ओली र यादवको शनिबारयता तीनपल्ट कुरा भइसक्यो, प्रचण्डले आलोपालो प्रधानमन्त्री मागेपछि उहाँ असन्तुष्ट बन्नुभएको छ,’ स्रोतले भन्यो, ‘सरकार त एमाले-माओवादीकै बन्ला तर दुवै पार्टीले फोरमलाई देखाएर एकअर्कालाई साइजमा राख्न खोजेका हुन् ।’ दाहालले केही दिनअघि चितवन पुगेर आलोपालो सत्तारोहणको सहमति खुलासा गरेका थिए । अनि एमालेले फोरमसँग मिलेर आफ्नो पार्टीलाई दबाबमा राख्न खोजेको पनि नवलपरासीको अर्को कार्यकर्ता भेटमा व्यक्त गरेका थिए २७५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठन गर्ने दलले १३७ सांसद संख्या पुर्‍याउनुपर्छ । एमालेको १२१ र फोरमको १६ जोड्दा ठ्याक्कै बहुमत अर्थात् १३७ पुग्छ । ओलीले माओवादी पक्षलाई यही संख्या देखाउँदै कार्यकारी पदमा आलोपालोसम्बन्धी अनावश्यक बखेडा गर्न नहुने, त्यसो गरिए विकल्प खोजिने चेतावनी दिएका छन्, अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?