विराटनगरसँगको पराजयसँगै काठमाडौं ईपीएलबाट बाहिर

काठमाडौं, १० पुस । विराटनगर वारियर्ससँगको पराजयसँगै काठमाडौं किंग्स इलाभेन एभरेष्ट प्रिमियर लिग क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ सोमबार भएको पहिलो खेलमा विराटनगर वारियर्सले काठमाडौंमाथि ८ रनको रोमाञ्चक जित हात पारेको हो । विराटनगरले यो सँगै समूह चरणमा सबै खेल जितेको छ । काठमाडौंले भने १ खेलमा मात्रै जित हात पार्न सफल भयो १४८ रनको लक्ष्य पछ्याएको काठमाडौंलाई अन्तिम ओभरमा १७ रन चाहिएको थियो । तर, अन्तिम ओभरको पहिलो बलमा नै रामनरेश गिरीले सागर विमारको विकेट लिए दोस्रो बलमा रन जोड्न नसकेका सिद्धान्त लोहनीले तेस्रो बलमा छक्का हान्दै काठमाडौंलाई जितको आशा देखाएका थिए तर, चौथो बलमा उनी आउट भए । र, काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाउन सक्यो । उसका लागि महारुफले ४२ रन बनाए भने नरेश बुढायरले ३० रन जोड्दा अन्य ब्याट्सम्यान चल्न सकेनन् बिराटनगरका अंशुमान रथले ३ विकेट लिए भने वसन्त रेग्मी र रामनरेश गिरीले २–२ विकेट लिए यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । जितसँगै ५ खेलबाट १० अंक जोडेको विराटनगर समूह विजेता बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?