तीन हप्ता भित्र ओलीको नेतृत्वमा नयाँ सरकारः प्रदिप ज्ञावाली

काठमाडौं, ८ पुस । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले अबको तीन हप्ताभित्रै केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन् । उनले अबको सरकारको पहिलो प्राथमिकता नै मुलुकको विकास र राजनीतिक स्थिरता रहने बताएका छन् शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अबको तीन हप्ताभित्रै ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने घोषणा गरेका हुन् । उनले भने, ‘अब बन्ने सरकारको प्राथमिकता भनेको राष्ट्रियता बलियो बनाउने, सुशासन कायम गर्ने, राजनीतिक स्थिरता, प्रत्येक नेपालीको जीवनमा सकारात्मक परिवर्तन ल्याउने र तिव्र आर्थिक विकास हाँसिल गर्ने नै हो ।’ नेपाली जनताले यीनै उद्देश्य पूरा गर्नको लागि वाम गठबन्धनलाई विश्वास गरेर अमुल्य मत दिएको उनको भनाई थियो ज्ञवालीले आगामी ५ वर्षभित्रमा नेपाललाई विकाशशील राष्ट्र बनाउने र आगामी दश वर्षभित्र प्रति व्यक्ति आम्दानी ५ हजार अमेरिकी डलर पुर्याउने अबको सरकारको लक्ष्य रहने समेत जनाए । उनले अब बन्ने सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्नेमा कुनै दुई मत नभएको स्पष्ट पारे निर्वाचन सम्पन्न भएको लामै समय भैसकेको भएपनि वर्तमान सरकारले नयाँ सरकार गठनको लागि मार्गप्रशस्त नगरेको भन्दै दुःख व्यक्त गरे । उनले भने, ‘वर्तमान सरकारले विभिन्न बहाना गरेर खासगरी राष्ट्रिय सभासम्बन्धी अध्यादेशमा एक खालको अग्र्याल्याँई झिकेर सहज सत्ता हस्तान्तरणमा असहजता उत्पन्न गरिरहेको स्थिति देखिन्छ । त्यसो गर्नु अनुचित हुन्छ । जनताको जनादेशको भावना विपरित हुन्छ । यसर्थ नयाँ सरकार गठनमा मार्गप्रशस्त गर्न हामीले ध्यानाकार्षण पनि गराएको छौं, अब ढिलाई गर्न हुँदैन् ।’राष्ट्रिय सभा गठन नभईकन नयाँ सरकार बन्नै सक्दैन भन्नु गलत र भ्रमको खेती भएको उनको टिप्पणी थियो । उनले निर्वाचन आयोगले प्रतिनिधि सभा समानुपातिकतर्फको मतपरिणाम सम्भवतः पर्सी सार्वजनिक गर्ने जनाउँदै बढिमा अबको तीन हप्ताभित्र नयाँ सरकार गठन ह’ने विश्वास दिलाए त्यस्तै उनले अब एमाले–माओवादी केन्द्रवीचको पार्टी एकता कसैले चाहेरपनि नरोकिने जिकिर गरे । उनले थपे, ‘छिट्टै एकता हुन्छ । एकताको लागि सघन ?पमा गृहकार्य अघि बढ्छ, हामी छलफलमा जुटिसकेका छौं, आजैपनि एकता संयोजन समितिको छलफल छ ।’उनले अब पार्टी एकता केबल एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको मात्रै एजेण्डा नभएर ५० लाख नेपाली जनताको एजेण्डा भैसकेको बताए । उनले भने, ‘वाम गठबन्धन बनाएर हामी चुनावमा गएका थियौं, हाम्रो पक्षमा ५० लाख जनताले मत दिनुभयो, योसँगै अब पार्टी एकता जनताबाट अनुमोदिन भइसक्यो, एकीकृत कम्यनिष्ट पार्टी बनाउने जनताको मत हो, हामी त्यसबाट दायाँबायाँ हुँदैनौं ।’ उनले पार्टी एकता र सरकार गठनको लागि दुवै पार्टीका शीर्ष नेताहरुवीच घण्टौंघण्टौंसम्म बहस भएको समेत जनाए ज्ञवालीले सरकार गठन र पार्टी एकता सँगसँगै हुने समेत जनाए । उनले भने, ‘सरकार गठन अलिक चाँडै होला तर एकतापनि छिट्टै हुन्छ, यसमा अब कसैले शंका नगरे हुन्छ, हामी छलफलमा जुटिसकेका छौ ।’ एकता गर्दा दुवै पार्टीको भूमिका, योग्यता, योगदान, प्रतिष्ठालाई ध्यानमा राखेर नेताहरुको व्यवस्थापन हुने समेत उनको भनाई थियो यद्धपी उनले पार्टी एकता भनेको कुनै एक पार्टी अर्कोमा विलय नभएको बताउँदै थपे, ‘एमाले माओवादीमा वा माओवादी एमालेमा विलय भएको होईन, दुवै पार्टीको आत्मसम्मानलाई ध्यानमा राखेर हामी एकता गर्छौं, दुवै पार्टीका नेताहूलाई उचित व्यवस्थापन गर्छौ, नेताहरुलाई पखेटा फिँजाएर काम गर्ने ठाउँ दिन्छौ ।’ उनले एकीकृत पार्टीको नेतृत्व भने ओली र प्रचण्ड दुवैले गर्न पाउने व्यवस्थापनि आफूहरुले गर्न लागेको अग्रिम जानकारी दिए त्यस्तै उनले नेताहरुको व्यवस्थापनमा भन्दा पनि देशको व्यवस्थापनमा आफहरुको ध्यान जाने पनि विश्वास दिलाए । उनले भने, ‘नेताहरुको व्यवस्थापन कसरी गर्ने भन्नेमा हाम्रो अहिले चिन्ता छैन, हाम्रो चिन्ता त बरु देशलाई व्यवस्थापन गर्नेतिर हो, को एमाले ? को माओवादी ? हामीले बिर्सिसकेका छौं, त्यसैले दुई पार्टीवीचको एकताले छिटो भन्दा छिटो एउटा कोर्स लिन्छ ।’तर पदीय बाँडफाँड त गर्नुपर्ला नि ? भनेर सोधिएको प्रश्नमा उनले थप प्रस्ट्याए, ‘त्यो त अवश्य हुन्छ नि । तर नेताहरुको वीचमा पदीय व्यवस्थापन वा बाँडफाँड गर्ने भन्दापनि ठूलो कुरा देशको व्यवस्थापन हो नि । देशमा सुशासन कायम गर्ने कुरा चाहीँ प्रमुख कुरा हो । यसलाई केन्द्रविन्दुमा राखेका छौं । त्यसो गर्दा कुन नेतालाई कुन जिम्मेवारी दिँदा उनले सबैभन्दा प्रभावकारी भूमिका खेल्नुहुन्छ त्यसमा हामी त्यही ढंगले सोच्छौैं ।’उनले अबको तीन हप्ताभित्रै नयाँ सरकार गठन हुने समेत जनाए । उनले थपे, ‘हामीले आशा गरेका छौं आउने आईतबारसम्म निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिकतर्फको नतिजा सार्वजनिक गर्छ । त्यो सार्वजनिक हुनेवित्तिकै सरकार गठनको बाटो खुल्छ । प्रतिनिधि सभाले पूर्णता पाउने वित्तिकै बहुमत प्राप्त दलको नेता चाहीँ प्रधानमन्त्री बन्ने अहिलेको हाम्रो संविधानमा व्यवस्था छ ।’उनले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजिनामा दिएर नयाँ सरकार गठनको लागि मार्गप्रशस्त गर्नुपर्ने बताए । त्यस्तै उनले राष्ट्रिय सभाको गठन नभईकन नयाँ सरकार बन्न नसक्ने भनेर देउवाले तर्क गर्नु गलत र भ्रमको खेती भएको समेत आरोप लगाए उनले भने, ‘त्यो उनको अनावश्यक जिद्दि हो । गैर संवैधानिक जिद्दि हो । राष्ट्रिय सभाको गठन र नयाँ सरकार यी दुवै नितान्त भीन्न भीन्न विषय हुन् । यीनीहरुवीच आपसमा अन्तरसम्बन्ध नै छैन । किनभने सरकार गठनमा राष्ट्रिय सभाको कुनै भूमिका नै हुँदैन । संसदको अरु काम कानून निर्माण लगायतमा भूमिका हुने भएपनि सरकार गठनमा राष्ट्रिय सभाको कुनै भूमिका हुँदैन् । त्यसो भएको हुनाले राष्ट्रिय सभा गठन नभएसम्म सरकार छोड्दिन भन्नु गलत हो ।’वर्तमान सरकारले राष्ट्रपतिसमक्ष प्रस्तुत गरेको अध्यादेश नै गलत भएको आरोप लगाए । उनले भने, ‘यो अध्यादेश हरेक हिसावले गलत छ, संविधान बनाउँदै गर्दा हामीले लामो समयसम्म यसबारेमा छलफल गरेकै हो । एकल संक्रमणीय मतको आधारमा त्यही भएर संविधानमा उल्लेख नै नगरेको हो । कांग्रेसले खेलको नियम सुरु भइसकेपछि अचानक खेलको नियम परिवर्तन गर्यो . वाम गठबन्धन बनिसकेपछि हामी क्लिनस्फि हुन्छौ कि भन्ने देखेर एकल संक्रमणीय मतको आधारमा भनेर लेख्यो । यो अध्यादेश असंवैधानिक छ ।’निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी मस्यौदा गर्दा नै दलका नेताहरुसँग पर्याप्त परामर्श गरिसकेको उल्लेख गर्दै ज्ञवालीले भने,‘हाम्रो तर्फबाट अग्नि खरेलजी, कांग्रेसबाट रमेश लेखकजी र माओवादी केन्द्रबाट रामनारायण विडारीजी जानुभएको थियो, त्यतिवेलाको निश्कर्ष भनेको नै बहुमतीय प्रणालीको आधारमा जाने नै थियो, सोही अनुसार आयोगले सरकारलाई बुझायो, सरकारले पनि मन्त्रिपरिषदबाट अनुमोदन गरेर संसद पठाएको थियो ।’उनले अध्यादेशलाई लिएर राष्ट्रपतिलाई विवादमा ल्याउन नहुने धारण राखे । ज्ञवालीले भने,‘राष्ट्रपति त संरक्षक हो, उनले यो अध्यादेशलाई पुर्नविचार गर भन्नुभएको छ, त्यसैले अब प्रधानमन्त्रीले आफ्नो अग्रसरतामा कतैपनि नअल्झिकन पहिलेकै प्रारुप अनुसार पुनः विद्येयक प्रस्तुत गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?