तीन हप्ता भित्र ओलीको नेतृत्वमा नयाँ सरकारः प्रदिप ज्ञावाली

काठमाडौं, ८ पुस । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले तीन हप्ता भित्र पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन् । सचिव ज्ञवालीले २ दिन भित्र प्रतिनिधिसभा समानुपातिक तर्फको मत परिणाम घोषणा हुनेवित्तिकै सरकार गठन प्रक्रिया अघि बढने स्पष्ट पारे । शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकार गठनको विषयलाई राष्ट्रिय सभाको निर्वाचनसँग जोडेर अनावश्यक भ्रम सृजना गर्न खोजिएको आरोप पनि लगाए । सचिव ज्ञवालीले सरकार गठनसँगै माओवादी केन्द्रसँगको पार्टी एकता प्रक्रिया दुवै पार्टीको योगदानको उच्च सम्मान गर्दै अघि बढने पनि बताए । उनले दुई पार्टीबीच एकता हुँदा नेताहरुले आफ्नो क्षमता र योगदान अनुसारको जिम्मेवारी पाउने पनि उल्लेख गरे । सचिव ज्ञवालीले दुवै पार्टीबीच ओलीलाई सरकारको नेतृत्व दिने विषयमा कुनै विवाद नरहेको दावी पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?