चुनाव उपयोगको कार्यनीति असफल भएपछि वैद्य माओवादी गम्भीर समीक्षामा

चितवन, ८ पुस । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निर्वाचन उपयोगको नीति सकिएपछि भावी कार्यनीति तय गर्न गम्भीर छलफलमा जुटेको छ । स्थानीय तह र प्रदेश तथा संसदको निर्वाचनको क्रान्तिकारी उपयोग भन्दै निर्वाचनमा सहभागी भएको वैद्य माओवादीको त्यसबारेमा समीक्षा गर्नका लागि केन्द्रीय समितिको बैठक चितवनमा बसिरहेको छ । बैठकमा महासचिव मोहन वैद्य किरणको राजनीतिक तथा सांगठनिक प्रस्तावमाथि छलफल जारी रहेको छ । छलफलका क्रममा अधिकांश केन्द्रीय सदस्यहरुले निर्वाचन उपयोगपछि अब तत्कालीन कार्यनीति पूरा भएकाले अब नयाँ कार्यनीति तय गर्नुपर्नेमा जोड दिएका छन् । महासचिवको प्रस्तावमाथि धाराणा राख्नेमध्ये केहीले निर्वाचन उपयोगका लागि निर्माण गरेको देशभक्त जनगणतान्त्रिक मोर्चाको औचित्य सकिएको भन्दै त्यसलाई विघटन गरेर क्रान्तिको तयारीमा लाग्नुपर्नेमा जोड दिएको स्रोतले जनाएको छ । वैद्यले आफ्नो राजनीतिक प्रस्तावमा समसामयिक राजनीतिक अवस्थाको चर्चा गर्दै पार्टीले आगामी दिनमा लिने कार्यनीतिक स्टेपहरुको बारेमा व्याख्या गरिएको छ । बैठकमा आगामी माघदेखि चैतसम्म गरी ३ महिने संगठन संगठन निर्माण, परिचालन तथा सदृढिकरण अभियानको प्रस्ताव गरिएको छ । सो क्रममा सशक्त फोर्स निर्माण गर्ने उल्लेख गरिएको छ । यसैगरी क्रान्तिकारी पार्टी तथा समूहहरुबीच एकता र ध्रुविकरणलाई जोड दिदै नयाँ जनवादी क्रान्तिको दिशामा अघि बढ्नुपर्नेमा जोड दिइएको बताइएको छ । बैठकमा शनिबार केन्द्रीय समिति सदस्यहरुले आफ्नो धाराणा राखिसकेपछि सांगठनिक प्रस्तावमा छलफल हुनेछ । गत असोजमा पोखरामा राष्ट्रिय सम्मेलन गरेको सो पार्टीले केन्द्रीय समिति र पार्टी महासचिवमा मोहन वैद्यलाई चयन गरेपनि स्थायी समिति र पोलिटब्युरोलगायतका संरचना निर्माण गरेको थिएन । बैठकमा स्थायी समिति, पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य चयन गर्ने विषयमा छलफल हुने बताइएको छ । करिब डेढ वर्षअघि नेकपा एकीकृतसँग पार्टी एकता गरेपछि सो पार्टीको केन्द्रीय सम्मेलन आयोजक समिति बनाएर कार्यालय र सचिवालय गठन गरिएको थियो । सोही अनुसार कार्यालय सदस्यलाई स्थायी समिति र सचिवालय सदस्यलाई पोलिटब्युरो सदस्य बनाउने तयारी भएको स्रोतको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?