वैद्यलाई यसरी एक्ल्याउन खोज्दैछ परी थापा समूह

काठमाडौँ, २५ भदौ- नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यलाई परी थापा समूहले एक्ल्याउन खोजेको छ । एकता भएको दुई वर्ष नपुग्दै नेकपा (एकीकृत) बाट आएका थापा समूहले वैद्यलाई एक्ल्याउन खोजेका हुन् । थापा समूहका रामसिंह श्रीस र सीताराम तामाङले माओवाद विचार र जनयुद्धको विषयमा वैद्यको दस्ताबेजमा फरक मत राखेका छन्, नयाँ पत्रिका दैनिकमा खबर छ ।

नेपाली समाजको स्वरूप र पार्टीको आम कार्यदिशा २५ देखि ३० असारसम्म चलेको केन्द्रीय समिति बैठकले पास गरेको थियो । सोही बैठकमा वैद्यले पेस गरेको दस्ताबेजमा श्रीस र तामाङले राखेको फरक मतलाई दस्ताबेजमा समेटिएको छ । वैद्यको दस्ताबेजसँग असहमत श्रीस र तामाङको राजनीतिक दस्ताबेज नेताहरूलाई पढ्न दिइएको छ । दुईजनाको फरक मतलाई आगामी २१ असोजमा हुने राष्ट्रिय सम्मेलनमा टुंगो लगाइने भएको छ । श्रीस र तामाङले दस्ताबेजमा माओत्सेतुङ अर्थात् माओवादलाई वादको रूपमा नभई विचारको रूपमा मात्र मान्नुपर्ने फरक मत राखेका छन् । फरक मतमा माओवादी जनयुद्धलाई जनताको सहभागितामा नभई केही कार्यकर्ताद्वारा मात्र चलाइएको युद्ध भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?