एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठन उपयुक्त : सिंह

काठमाडौं, ८ पुस । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठन गर्नु उपयुक्त हुने बताएका छन् ।

काठमाडौँ महानगरपालिका वडा नं २९ ले डिल्लीबजारमा आयोजना गरेको ‘बधाई तथा धन्यवाद’ कार्यक्रममा नेता सिंहले सबै समुदायको प्रतिनिधित्व गराउनका लागि भए पनि एकल संक्रमणीय प्रणाली आवश्यक रहेको बताए ।

नेता सिंहले निर्वाचन हुनुभन्दा दुई महिना अगाडि नै सरकारले एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठन गर्नका लागि अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाएको भन्दै राष्ट्रपतिले अनुमोदनमा ढिलाइ गरेकामा दुःख व्यक्त गरे ।

पार्टीका पूर्वमहामन्त्री सिंहले जनताको जनमतलाई शीरोधार्य गरेर काँग्रेस प्रतिपक्षमा बस्ने स्पष्ट पारे । उनले काँग्रेसले विधि, प्रक्रिया पूरा गरेर प्रजातान्त्रिक परिपाटीअनुसार सत्ता हस्तान्तरण गर्ने बताए । निर्वाचनमा नतिजा कमजोर आएको भन्दै काँग्रेसमा सुधारको खाँचो रहेको उनको भनाइ थियो नेता सिंहले पार्टीको कमजोर नतिजाबारे पार्टीभित्र गम्भीर छलफल गर्नुपर्ने भन्दै पार्टी सुधारका लागि आफूले जस्तोसुकै काम गर्न तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?