सरकारी अस्पतालमा आईसीयूको अभाव

काठमाडौँ, २५ भदौ -सर्वसाधारणको उपचारका लागि सरकारी अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) पाउन कठिन हुन थालेको छ । जनशक्तिको अभाव हुँदा सरकारी अस्पतालमा कम आईसीयू सञ्चालन भइरहेको र ती आईसीयूमा पनि प्रभावशालीको पहुँच हुँदा सर्वसाधारणले कठिनाइ भोग्नुपरेको खबर गोरखापत्रमा छापिएको छ ।

केही दिनअघि धादिङ सुनौलो बजारकी लक्ष्मी रोकाले ११ महिने छोरा सुनीललाई निमोनिया भएपछि कान्ति बाल अस्पताल पु¥याइन् । सुनीलको प्रारम्भिक उपचार गरेपछि चिकित्सकले छोरालाई आईसीयूमा राख्न सिफारिस गरे तर कान्तिमा आईसीयू उपलब्ध थिएन । रोकासँग छोरालाई निजी अस्पतालमा लैजाने गरी उपचार खर्चको अभाव थियो । धादिङबाट सात हजार रुपियाँ लिएर छोराको उपचारका लागि कान्ति बाल अस्पताल आएकी लक्ष्मीलाई कान्तिबाट अरू अस्पताल लैजान आर्थिक कठिनाइ थियो ।कान्तिकै चिकित्सकले आईसीयूका लागि निजी अस्पतालमा फोन गरिदिए । रोकाका छोराको भक्तपुरस्थित सिद्धि स्मृति महिला तथा बालबालिका अस्पतालको आईसीयूमा बिहान ४ बजे मात्रै भर्ना गरियो । आईसीयूमा राख्न सुरुमै १८ हजार पाँच सय धरौटी राख्नुपर्ने थियो । त्यति धेरै पैसा लक्ष्मीसँंग थिएन । लक्ष्मीका श्रीमान्ले आफन्तसँग पैसाको जोहो गरेर धरौटी राखेपछि बल्ल सुनीलको उपचार सुरु भयो । तीन दिन आईसीयूमा राखेर उपचार गरेपछि अहिले सुनीललाई वार्डमा सारिएको छ । अहिले सुनीलको स्वास्थ्य सामान्य बन्दैगएको लक्ष्मी बताउँछिन् । सुनीललाई आईसीयूबाट वार्डमा सारेपछि लक्ष्मीलाई छोराको चिन्ताभन्दा घरमा रहेको लैनो भैँसीको चिन्ता लाग्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?