वृद्धवृद्धाको उपचारका लागि चिकित्सकद्वारा अक्षयकोष स्थापना

इलाम ६ पुस । माईभगवती वृद्धाश्रममा आश्रित वृद्धवृद्धाको औषधोपचारमा सहयोग गर्ने उदेश्यले ट्रस्ट स्थापना गरिएको छ ।

विगतका दिनमा इलाम बसेर सेवारत चिकित्सकद्वय हिमाल दाहाल र आशा कार्कीले आफ्नो आमा चेतकुमारी दाहालको स्मृतिमा चेतकुमारी दाहाल मेमोरियल ट्रस्टको स्थापना गरेका हुन् ।

आशा कार्कीको संयोजकत्वमा ट्रस्ट सञ्चालन समितिसमेत गठन भएको छ । संरक्षक संस्था महिला जागरण संघ इलाममा आयोजित कार्यक्रममा उपस्थित भएर डाक्टरद्वय दाहाल र कार्कीले वृद्धाश्रमका कोषाध्यक्ष कोमलकुमार निरौलालाई ट्रस्टमा कोष जम्मा गर्न रु दुई लाखको चेक हस्तान्तरण गरे ।

सो सँगै डाक्टर दम्पतीले यस वर्ष वृद्धवृद्धाका लागि नगद पाँच हजारसमेत निरौलालााई हस्तान्तरण गरे । दाताहरुको इच्छाबमोजिम नै सो रकम मुद्दति खातामा राखी प्राप्त ब्याजले आश्रममा आश्रित वृद्धवृद्धाको उपचारका लागि रकम खर्च गरिने निरौलाले बताए ।

डाक्टर दम्पतीले ग्रिन भ्याली एकेडेमी स्कुलमा पनि आफ्नो छोरी आर्या दाहालको स्मृतिमा विगत ५ वर्षदेखि यस्तै कोष स्थापना गरी एलकेजीमा प्रथम हुने छात्रछात्रालाई पुरस्कृत गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?