विद्यालयका सवारी साधनमा एकरुपता ल्याइने

चितवन, ४ पुस – जिल्लामा गुड्ने निजी विद्यालयका सवारी साधनको रंग सुन्तला–पहेँलो बनाइने भएको छ जिल्ला ट्राफिक प्रहरी कार्यालय, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र उच्च माध्यमिक विद्यालय संघ (हिसान) बीच आज यहाँ भएको सहमतिमा आगामी चैत मसान्तसम्ममा निजी विद्यालयका सबै सवारी साधनमा एउटै रंग बनाउने उल्लेख छ बीस वर्षभन्दा पुराना सवारी साधन सञ्चालन नगर्ने, सवारी चालक र सहचालकले गाढा निलो रंगको पोशाक अनिवार्य लगाउनु पर्ने सहमति भएको छ । ट्राफिक प्रहरीले यस्ता सवारी साधनलाई एम्बुलेन्स सरह प्राथमिकतामा राखी ट्राफिक व्यवस्थापन गर्ने सहमति भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले बताए सवारी चालक र सहचालकले सवारी चलाएको समयमा मादक पदार्थ र सूर्तीजन्य पदार्थ सेवन गर्न नपाउने, मोबाइल फोनमा कुरा गर्न नपाउने, कक्षा ११ र १२ का विद्यार्थीलाई विद्यालय पोशाकमा मोटरसाइकल र स्कुटी चलाउन नदिइने र विद्यार्थीलाई सवारी नियम र ट्राफिक ज्ञान दिइने पनि सहमति भएको पन्तले जानकारी दिए जिल्लामा ३०० भन्दा बढी निजी विद्यालयका सवारी साधन रहेका छन् । सहमतिमा प्याब्सन चितवनका अध्यक्ष देशबन्धु अधिकारी, हिसान चितवनका अध्यक्ष भूपेन्द्र धिताललगायतको हस्ताक्षर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?