एमाले-माओवादी पार्टी एकताबारे भीम रावलले खोले रहस्य

काठमाडौं, ३ पुस —नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले र माओवादी केन्द्रवीच एकता र सरकार गठनबारे आन्तरिक छलफल सुरु भैरहेकोले छिट्टै टुंगोमा पुग्ने बताएका छन् । सोमबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले पार्टी एकता र सरकार गठनबारे दुवै पार्टीका शीर्ष नेताहरु बसेर छलफल अघि बढाईसकेको सुनाए । उनले भने,‘हामी अहिले दुई वटा पार्टीहरुलाई एउटै बनाउने भनेर एकता प्रक्रिया सुरु गरिसकेका छौं, अबको प्रधानमन्त्री केपी शर्मा ओली बन्ने संभावना बढि छ, हामी बैठकहरु बसिरहेका छौं, संयोजन समिति निर्माण गर्ने प्रक्रियामा छौं, एकता गर्दा हामी केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका पार्टी कमिटिलाई समायोजन गरेर जान्छौं।’ उनले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवै नेताहरुलाई आपसी मेलबाट अध्यक्ष र प्रधानमन्त्रीको भूमिका उचित किसिमबाट दिएर सन्तुलनमा राखेर अघि बढ्ने विश्वास दिलाए । रावलले सरकार निर्माणका प्रक्रियापनि दुवै पार्टीका शीर्ष नेताहरु एक ठाउँमा बसेर तय गर्ने सुनाए । उनले थपे,‘जनताका ईच्छा र आकांक्षा पूरा गर्नेगरि हामी अघि बढ्छौं । अबको एउटै उद्देश्य भनेको विकास र समृद्धि हो।’ उनले सबै राजनीतिक दलहरुले सुझबुझका साथ नेपालको संविधानलाई कार्यान्वयन गर्ने, लोकतान्त्रिक मान्यता र मुल्यलाई बलियो बनाउने दिशातर्फ उन्मुख हुनु अत्यन्तै आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?