साँझसम्ममा समानुपातिकको अन्तिम परिणाम आउने, कसको कति मत ?

काठमाडौं, १ पुस । प्रतिनिधि सभा तथा प्रदेश सभाको समानुपातिकतर्फको अन्तिम मतपरिणाम आज साँझ सम्ममा आउने निर्वाचन आयोगले जनाएको छ । आयोगले शुक्रबारसम्ममा सबै मतगणना सकिने जनाएपनि दुई पटा जिल्लाको बाँकी रहेकाले केही ढिलाई भएको बताएको छ । प्रत्यक्षतर्फको मतगणना भने बुधबार बिहान नै सकिएको हो । समानुपातिकतर्फ सुनसरी र सर्लाहीबाहेकका सबै जिल्लाको मतगणना सकिएको छ । समानुपातिकतर्फ नेकपा एमाले र नेपाली काँग्रेसबीच तिव्र प्रतिस्पर्धा देखिएको छ । एमालेले हालसम्म ३१ लाख ६० हजार ३ सय ६१ मत पाएको छ भने नेपाली काँग्रेसले ३१ लाख ८ हजार १ सय ८ मत पाएको छ । मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको पछिल्लो मतगणनामा कांग्रेसले मतान्तर घटाएको छ । यसैगरी तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले १२ लाख ९५ हजार ३ सय ६० मत ल्याएको छ । संघीय समाजवादी पार्टीले ४ लाख ६७ हजार ५ सय ७६ र राजपाले ४ लाख ५६ हजार ६ सय १४ मत प्राप्त गरी राष्ट्रिय पार्टीको रुपमा आफूलाई उभ्याउन सफल भएका छन् भने अन्य पार्टीले तीन प्रतिशत थ्रेुस होल्ड पूरा नगर्ने स्पष्ट भइसकेको छ । विवेशशील साझाले २ लाख १२ हजार २ सय ९३, राप्रपाले १ लाख ९६ हजार १ सय ८२, राप्रपा (प्रजातान्त्रिक) ले ८८ हजार १ सय ५८, नयाँ शक्तिले ८१ हजार ४ सय, राष्ट्रिय जनमोर्चाले ६२ हजार १ सय २३, नेमकिपाले ५६ हजार ९७, नेकपा (माले) ले ४१ हजार ८९ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?