झापामा खुला दिसामुक्त अभियान : सदरमुकामवासी नै दुर्गन्ध सहन बाध्य

झापा, २८ मंसिर । झापा जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने अभियान चलिरहेका बेला सदरमुकामवासी नै दिसापिसाबको दुर्गन्ध सहन बाध्य भएका छन् जिल्ला कारागार झापाको शौचालयबाट निस्किएको मलमूत्र जथाभावी फाल्दा यहाँका स्थानीयवासी दुर्गन्धित वातावरणमा बस्न बाध्य भएका हुन् भद्रपुर–९ की स्थानीयवासी कालिका न्यौपानेको जग्गामा कारागारले मलमूत्र फालेपछि गाउँ नै दुर्गन्धित बनेको हो । कारागारभित्र रहेको शौचालयको फोहर व्यवस्थित नगर्दा नजिकै रहेका दर्जनौँ परिवार दुर्गन्धमा बस्न बाध्य भएको न्यौपानेले बताए बुधबार न्यौपानेसहित स्थानीयवासीको समूहले भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठलाई कारागारको फोहरका कारण बसोबास गर्न नै समस्या भएको जानकारी गराएका छन् । शौचालयको फोहरले न्यौपाने परिवारको एक बिगाह जमिनमा लगाइएको धान काट्न समस्या भएको छ “खेतमा धान पाकिसकेको छ”, न्यौपानेले भने, “मजदुरले काट्न मान्दैनन्, दुर्गन्धले झनै समस्या भएको छ ।” लामो समयदेखि फोहर व्यवस्थापन गर्नभन्दा पनि कारागार प्रशासनले बेवास्ता गरेको स्थानीयवासीको आरोप छ । कारागार प्रशासनले आफूहरुले समाधान गर्न नसक्ने भन्दै जिल्ला प्रशासन जान सुझाव दिने गरेको पीडित परिवारको भनाइ छ कारागार प्रमुख यज्ञ निरौलाले यो पुरानै समस्या भएको प्रतिक्रिया दिनुभयो । उनले समाधानमा पहल गर्ने प्रयास गरेको प्रतिक्रियासमेत दिए “कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी छन्, फोहर व्यवस्थापनमा कठिनाइ भएको छ”, उनले भने, “म एक्लो मान्छेले के गर्नु ?” प्रमुख निरौलाले यस विषयमा नगरपालिका र जिल्ला समन्वय समितिमा जानकारी गराएको बताए यता, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले समस्या समाधानका लागि सरोकारवालासँग पहल गर्ने बताए । झापा जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने समय नजिकिँदै जाँदा कारागारको शौचालय भने दिनहुँ अव्यवस्थित बन्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?