जसले पूरा गरे जितमा ‘ह्याट्रिक’

काठमाडौँ, २६ मङ्सिर – चुनावी परिणाम अन्तिमतिर आइपुग्दा धेरै ‘हेभिवेट’ नेता ‘रिङआउट’ भएका छन् । नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का केही शीर्ष नेताले समेत पराजय भोगेका छन् । तर, कतिपय नेताले भने आफ्नो जितलाई निरन्तरता दिँदै ह्याट्रिक गरेका छन् प्रधानमन्त्रीसमेत रहनुभएका शेरबहादुर देउवाले डडेलधुराबाट २०४८ देखि नै लगातार जित हात पार्नुभएको छ । उहाँको निरन्तर जितलाई वाम गठबन्धनले रोक्न सकेन । यसअघिका संविधानसभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि देउवा डडेलधुराका साथै कैलाली र कञ्चनपुरबाट पनि विजयी हुँदै आउनुभएको थियो । योपटक वाम गठबन्धनका उम्मेदवार खगराज भट्टलाई छ हजार ९४८ मतान्तरले पराजित गर्दै देउवा विजयी हुनुभयो, गोरखापत्रमा खबर छयस्तै पूर्वप्रधानमन्त्री झलनाथ खनालले जितमा ह्याट्रिक पूरा गर्नुभयो । खनालले इलामबाट लगातार तेस्रोपटक जित दर्ता गर्नुभएको हो । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा इलाम–१ बाटै खनाल विजयी हुनुभएको थियो । खनालले योपटक काँंग्रेसका भूपेन्द्र कट्टेललाई १७ हजार १६७ मतान्तरले पराजित गर्नुभयो यस्तै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि गोरखाबाट लगातार तेस्रोपटक जित हासिल गर्नुभयो । पहिलो संविधानसभामा सबैभन्दा फराकिलो अन्तरको जित हासिल गर्नुभएका भट्टराईले योपटक तुलनात्मक रूपमा प्रतिस्पर्धात्मक चुनाव लड्नुभयो । दुईपटक माओवादीबाट विजयी हुनुभएका भट्टराईले योपटक माओवादीकै उपाध्यक्षसमेत रहनुभएका नारायणकाजी श्रेष्ठलाई पराजित गरी तेस्रोपटक जित हासिल गर्नुभयो । भट्टराईले योपटक छ हजार ८७४ मतान्तरले जित हासिल गर्नुभयो पूर्वसभामुख सुवास नेम्बाङले पनि इलामबाट लगातार तेस्रोपटक जित हासिल गर्नुभएको छ । नेम्बाङले योपटक काँंग्रेस उम्मेदवार तथा निवर्तमान सांसद केशव थापालाई पराजित गर्नुभयो । नेम्बाङले नौ हजार ६५२ मतान्तरले जित निकाल्नुभयो काँंग्रेसका प्रकाशमान सिंहले पनि काठमाडौँ–१ बाट लगातार तेस्रोपटक जित हासिल गर्नुभयो । अघिल्ला दुई निर्वाचन सहज रूपमा जित्नुभएका सिंहका लागि यो पटकको जित सहज रहेन । विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रलाई ८१८ मतान्तरले पछाडि गरेर सिंहले जितमा ह्याट्रिक पूरा गर्नुभयो माओवादी केन्द्रका कृष्णबहादुर महराले तेस्रोपटक लगातार जित हासिल गर्नुभयो । भूगोल परिवर्तन गरी योपटक दाङबाट निर्वाचित हुनुभएका महराले १४ हजार १४५ मतान्तरले काँग्रेस उम्मेदवार राजु खनाललाई पराजित गरी तेस्रो जित दर्ता गर्नुभयो माओवादी केन्द्रकै जनार्दन शर्माले पनि रुकुम पश्चिमबाट काँग्रेसका गोपालजीजङ्ग शाहलाई पराजित गर्दै शर्माले ह्याट्रिक पूरा गर्नुभयो । शर्माले १८ हजार ७४३ मतान्तरले जित हासिल गर्नुभयो नियमित निर्वाचन क्षेत्र सुनसरीबाट सप्तरी आएर निर्वाचनमा भाग लिनुभएका सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पनि लगातार तीनपटक जित हासिल गर्नुभयो । यादवले सप्तरी–२ बाट माओवादी केन्द्रका उमेशकुमार यादवलाई पराजित गरी लगातार तेस्रो जित हासिल गर्नुभयो यस्तै उदयपुरबाट डा. नारायण खड्का पनि तेस्रोपटक विजयी हुनुभएको छ । खड्का एमाले उम्मेदवार मञ्जुकुमारी चौधरीलाई ५४८ मतान्तरले पराजित गर्दै विजयी हुनुभयो । २०६४ र २०७० को संविधानसभा सदस्यमा पनि खड्का उदयपुर–१ बाटै निर्वाचित हुनुभएको थियो यस्तै माओवादी केन्द्रका नेता प्रभु साहले पनि लागातार तेस्रोपटक जित हासिल गर्नुभएको छ । साहले रौतहट–३ मा काँग्रेसका सुनीलकुमार यादवलाई पराजित गर्दै लगातार तेस्रो जित हासिल गर्नुभयो । साहले नौ हजार ५९३ मतान्तरसहित जित हासिल गर्नुभयो कास्कीबाट एमाले युवा नेता रवीन्द्र अधिकारीले पनि आफ्नो जितमा ह्याट्रिक पूरा गर्नुभयो । अधिकारीले कास्की–२ मा काँंग्रेसका देवराज चालिसेलाई पराजित गर्दै तेस्रो जित निकाल्नुभयो । उहाँले आठ हजार ५४६ मतसहित जित निकाल्नुभएको हो सङ्घीय समाजवादी फोरमबाट काँग्रेस प्रवेश गर्नुभएका अभिषेकप्रताप शाहले पनि जितमा ह्याट्रिक पूरा गर्नुभयो । शाहले यसअघि दुई निर्वाचन उपेन्द्र यादव नेतृत्वको दलबाट जित हासिल गर्नुभएको थियो । योपटक काँग्रेसका तर्फबाट कपिलवस्तु–३ मा उम्मेदवार रहेका शाहले यादवकै नेतृत्वको दल सङ्घीय समाजवादी फोरमका मङ्गलप्रसाद गुप्तालाई पराजित गर्दै तेस्रो जित हासिल गर्नुभयो विसं २०५६ मा राप्रपाका सांसद रहनुभएका बृजेशकुमार गुप्ताले पछिल्ला सबै निर्वाचन फरकफरक दलबाट जित्नुभएको छ । २०६४ मा सद्भावना, २०७० मा तमलोपा हुँदै गुप्ता योपटक एमालेबाट विजयी हुनुभएको हो । गुप्ताले पनि लगातार तेस्रो जित हासिल गर्नुभयो । उहाँले कपिलवस्तु–२ बाट काँग्रेस उम्मेदवार सुरेन्द्रराज आचार्यलाई पराजित गरी जितलाई निरन्तरता दिनुभयो यस्तै सिन्धुपाल्चोक–१ बाट जित निकाल्दै माओवादी केन्द्रका उम्मेदवार अग्नि सापकोटाले लगातारको जितलाई निरन्तरता दिनुभएको हो । २०६४ र २०७० मा पनि सापकोटा सिन्धुपाल्चोकबाटै जित हासिल गर्नुभएको थियो । बहालवाला सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई १० हजार ७०६ मतान्तरले पराजित गर्दै सापकोटाले जितमा ह्याट्रिक पूरा गर्नुभएको हो सल्यानबाट माओवादीकै टेकबहादुर बस्नेतले पनि जितमा ह्याट्रिक पूरा गर्नुभयो । बस्नेतले काँग्रेस उम्मेदवार राजेन्द्रबहादुर शाहलाई ११ हजार १३० मतान्तरले पराजित गर्दै लगातार तेस्रोपटक जित हासिल गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?