चुनाब जितेसँगै प्रचण्डले जारी गरे यस्तो विज्ञप्ति

काठमाडौँ,२५ मंसिर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेसँगै विज्ञप्ति जारी गरेका छन् । उनले विज्ञाप्तिमा मुलुक समृद्धिको बाटोतर्फ उन्मुख भएको उल्लेख गर्दै उनलाई विजय गराउने चितवनका जनतालाई धन्यवाद भनेका छन् । प्रचण्डको विज्ञप्ति यस्तो छ संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान घोषणा भएपछिको प्रदेश र प्रतिनिधिसभाको पहिलो ऐतिहासिक निर्वाचनमा सिङ्गो देशको उल्लासपूर्ण सहभागिता र वाम गठबन्धनलाई ऐतिहासिक अनुमोदनका लागि म देशभित्र र बाहिर रहनुभएका सबै आमाबुवा, दिदीबहिनी दाजुभाइप्रति हार्दिक आभार प्रकट गर्दछु । वाम गठबन्धनको विजयसँगै देशमा अब राजनीतिक स्थायित्व र आर्थिक सम्बृद्धिको नयाँ युग सुरु भएको छ । यो ऐतिहासिक परिणामका लागि अथक रुपमा क्रियाशील नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का देशैभरिका नेता–कार्यकर्ता बधाई र धन्यवादका पात्र हुनुुहुन्छ । अहिलेको विजयलाई हाम्रो परीक्षा र जिम्मेवारीका रुपमा लिन र संयमपूर्वक राष्ट्रिय सम्बृद्धिका लागि थप क्रियाशील हुन म सबै वामपन्थी नेता, कार्यकर्ता र आम जनतालाई हार्दिक आग्रह गर्दछु । म निर्वाचन सम्पन्न गरेकोमा प्रधानमन्त्री शेर बहादुर देउवालाई पनि धन्यवाद ज्ञापन गर्दछु । अब सरकारबाट संविधानको मर्म अनुसार सहज रुपमा नयाँ सरकार निर्माणमा सहयोगको समेत अपेक्षा गर्दछु । ममाथि विश्वास गर्ने चितवन क्षेत्र नं. ३ का सबै मतदाताप्रति म अत्यन्त आभारी छु । आउँदा दिनमा बिना भेदभाव सिङ्गो चितवनको साझा अभिभावक बन्ने र चितवनलाई आर्थिक सम्बृद्धिको केन्द्र बनाएर समस्त राष्ट्रकै आर्थिक सम्बृद्धिका लागि क्रियाशील रहने प्रतिबद्धता दोहोर्याउँछु पुष्पकमल दाहाल ‘प्रचण्ड’अध्यक्ष नेकपा (माओवादी केन्द्र)२०७४, मंसिर २५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?