२०७४, २५ मङ्सिर सोमवार ०३:४८

स्थानीय तहमा सहायता कक्ष स्थापना गर्ने बिना मगरको पहिलो घोषणा


प्रकाशित मिति : २०७४, २५ मङ्सिर सोमवार ०३:४८

महेन्द्रनगर, २५ मंसिर । कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएलगत्तै मतदातालाई धन्यवाद ज्ञापन गरेर नवनिर्वाचित सांसद बिना मगरले निरन्तर जनसम्पर्क स्थापित गर्न स्थानीय तहमा सहायता कक्ष (हेल्प डेस्क) स्थापना गर्ने घोषणा गरेकी छन् ।
मतदातालाई सम्बोधन गर्दै जारी गरिएको धन्यवाद ज्ञापन पत्रमा लेखिएको छ, ‘तपाईहरूसँग निरन्तर जनसम्पर्क स्थापित गर्न तथा गुनासो र समस्याको समाधानका लागि स्थानीय तहमा सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिने प्रतिवद्धता समेत पुनः जाहेर गर्न चाहन्छु ।’ निर्वाचन प्रचारका क्रममा सार्वजनिक गरेको प्रतिवद्धतापत्रलाई मुख्य मार्गचित्र मानेर क्षेत्रको विकासमा लाग्नुपर्नेमा वाम गठबन्धनका उम्मेदवार एकमत रहेको नवनिर्वाचित सांसद बिना मगरद्वारा जारी धन्यवाद ज्ञापनपत्रमा उल्लेख गरिएको छ । ‘स्थानीय, प्रदेश र केन्द्र सरकारमा वाम गठबन्धनकै नेतृत्व हुने भएकाले विकास गर्न सहज हुनेछ । ३ वटै तहबीच आवश्यक समन्वय गरेर विकासको सपनालाई मूर्तरुप दिनुपर्नेमा म दृढ छु । संसद र सिंहदरबारमा सक्रिय भूमिका निर्वाह गरेर आफ्नो क्षेत्रमा बढीभन्दा बढी बजेट र योजना ल्याउने र समयसीमाभित्रै प्रभावकारी कार्यान्वयन गराउने विषय मेरा लागि प्रमुख हुने छन्,’ धन्यवाद पत्रमा लेखिएको छ ।
‘मानसिक रुपमा जटिल परिस्थिति र स्वास्थ्य अवस्था अनुकूल नभएका बेला तपाई आमाबुबा, दाजुभाई, दिदीबहिनी लगायतबाट मैले पाएको साथ जीवनभर बिर्सिने छैन,’ धन्यवाद पत्रमा लेखिएको छ । कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनकी उम्मेदवार बिना मगर निकटतम प्रतिद्वन्द्वीभन्दा दोब्बर मतान्तरले विजयी भएकी छन् । बिना मगरले ३८ हजार ४ सय ६७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टले १९ हजार २ सय १९ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिनाले दिवानभन्दा १९ हजार २ सय ४८ बढी मत पाएकी छन् ।
८८ हजार ५९ मतदाता रहेको कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रमा ६३ हजार ३ सय १ मत खसेकोमा ६० हजार २ सय ६३ मत सदर भएको थियो । ‘हालसम्म विकासको अनुभूति गर्न नपाएको दुर्गम क्षेत्रको सेवा गर्ने मेरो संकल्प र विकास भएको देख्ने तपाईहरूको चाहना मेल खाएकै कारण मैले यतिधेरै मत पाएकी हुँ,’ धन्यवाद ज्ञापनपत्रमा लेखिएको छ, ‘यतिधेरै मतदाताको विश्वास र साथ मेरा लागि एकातिर अवसर हो भने अर्काेतिर चुनौति पनि । तर, म आफ्नो दक्षता र क्षमताको भरपूर उपयोग गर्दै जनताको अपेक्षा पूरा गर्न निरन्तर खटिने प्रतिवद्धता जाहेर गर्दछु ।’ संसद र सिंहदरबारमा सक्रिय भूमिका निर्वाह गरेर आफ्नो क्षेत्रमा बढीभन्दा बढी बजेट र योजना ल्याउने र समयसीमाभित्रै प्रभावकारी कार्यान्वयन गराउने विषय प्रमुख हुने बिना मगरले जनाएकी छन् ।
निर्वाचनको प्रक्रिया अनुसार बहुमतका आधारमा जितेपनि सर्वमतको सम्मान गर्ने सांसद बिना मगरले जनाइन् । ‘मलाई निर्वाचित गराउन मतदान गर्ने मतदाता, चुनाव प्रचारमा खटिने वाम गठबन्धनका नेता कार्यकर्ता, चुनावमा समर्थन र मतदान गरेर सघाउने अन्य विभिन्न पार्टीका समर्थक, प्रतिस्पर्धालाई सौहार्द बनाउने प्रतिस्पर्धी उम्मेदवारहरू, निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन खटिएका निर्वाचन आयोगका कर्मचारी र शान्ति व्यवस्था कायम राख्न खटिएका सुरक्षाकर्मी तथा सञ्चारकर्मी महानुभावहरूप्रति आभार प्रकट गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु,’ धन्यवाद ज्ञापनपत्रमा लेखिएको छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै बिना मगर कञ्चनपुरबाट केन्द्रीय संसदमा प्रत्यक्ष निर्वाचित भएर पुग्ने पहिलो महिला बनेकी छन् । यसपालिको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम अर्थात् ७ नम्बर प्रदेशबाट निर्वाचित हुने एक मात्र महिला बन्ने भएकी छन् ।
कैलालीको ५ नम्बर क्षेत्रबाट प्रतिस्पर्धामा रहेकी आरजु राणा देउवा पराजित भइसकेकी छन् भने कैलालीको १ नम्बर क्षेत्रबाट प्रतिस्पर्धामा रहेकी वाम गठबन्धनकी उम्मेदवार गरीमा शाह पराजित हुने अवस्थामा पुगेकी छन् । बिना मगर विजयी भएको क्षेत्रबाट प्रदेशसभा १ बाट तारालामा तामाङ र प्रदेशसभा २ बाट कुलवीर चौधरी विजयी भएका छन् । कञ्चनपुरको १ नम्बर क्षेत्रमा वाम गठबन्धनले सानदार जीत हात पारेको छ ।

 

प्रतिक्रिया दिनुहोस