चितवनबाट चुनाव लड्दै प्रचण्ड

भरतपुर, २३ भदौ ।पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा आफू चितवनबाट चुनाव लड्ने बताएका छन ।प्रेस सेन्टरले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले भने, बीरगञ्ज बैठकबाट म चितवनमा चुनाव लड्ने निर्णय भएको छ । चितवन देशको एउटा विशिष्ट जिल्ला हो, यसको राष्ट्रिय राजनीतिमा विशेष भूमिका पनि छ । त्यसैले म चितवनबाट चुनाव लड्दैछु ।म समग्र देशको अनुभव लिएर चितवन आउदैछु, समग्र चितवनलाई उत्कृष्ट शहर बनाउन सकिन्छ । यसको दीर्घकालिन विकासको गुरुयोजना बनाउँदैछु, प्रचण्डले भने, भरतपुरलाई स्मार्ट सिटी मात्रै नभएर उत्कृष्ट शहर बनाउनुपर्छ । मैले यसबारे चीनियाँहरुसँग पनि कुरा गरेको छु। छिटै यसको गुरुयोजना बन्छ। चितवन देशकै राजनीतिक र आर्थिक गतिविधिको केन्द्र हो, यसलाई देशकै उत्कृष्ट जिल्ला बनाउने सपना छ । नदी नियन्त्रण र व्यवस्थापन, निकुञ्ज व्यवस्थापन, कृषिको आधुनिकिकरण, प्राविधिक शिक्षाको गुणात्मक विकास, रिङ रोड, सञ्चार लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?