विश्वलाई तनाव हुँदा उत्तर कोरियामा खुसियाली

प्योङ्याङ्, २३ भदौ – उत्तर कोरियाले गएको आइतबार गरेको शक्तिशाली आणविक परीक्षणको खुसीयालीमा बिहीबार राजधानी प्योङ्याङ्मा उत्सव मनाइएको छ । यस समाचारलाई संसारका समाचार समितिहरूले बिहानदेखि निकै प्राथमिकताका साथ सम्प्रेषण गरेका छन् । उक्त परीक्षण गर्ने वैज्ञानिकलाई उत्तर कोरियाली नागरिकले बधाई ज्ञापनगर्दै सो उत्सव मनाएको बताइएको छ ।उत्तर कोरियाको राजधानी सहरमा दशौँ हजार नागरिक उभिएर ध्वजापताकासहित नाचगान गर्दै उत्सव मनाएका दृश्य सरकारी टेलिभिजनले देखाएको छ । उत्तर कोरियाली नागरिकहरुले सो आणविक परीक्षणको सफलताको खुसीयालीमा यसरी उत्सव मनाउन सडकमा ओर्लिएको जनाएका छन् ।

गत आइतबार उत्तरले गरेको सो परीक्षण लगत्तै उक्त परीक्षण हाइड्रोजन बम भएको समाचार गर्वका साथ सार्वजनिक गरेको थियो । उत्तरले उक्त परीक्षणलाई निकै सफल भएको भनेको थियो । बिहीबार बिहानै दशौँहजार नागरिक प्योङ्याङ्को किम इल सुङ स्क्वायरमा जम्मा भएका थिए । उनीहरुले विभिन्न रंगीचंगी ध्वजापताका बोकेर आपसमा बधाई ज्ञापन गर्नुका साथै उत्तर कोरियाका नेताको पनि जय जयकार गरेका थिए ।

उनीहरुले यस सफलताको पहिलो श्रेय उत्तर कोरियाली नेताको रहेको पनि सो अवसरमा बताएका थिए । उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरू परीक्षण गर्दै आएको छ । केही समयमात्र अघि पनि उसले अन्तरमहादेशीय क्षेप्यास्त्र हानेको थियो । जो जापानको समुद्रसम्म पुगेर निस्तेज भई खसेको बताइएको थियो,  राजधानीमा  खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?