जित पछि महराको पहिलो प्रतिकृया–सबैको साझा भएर काम गर्छु

दाङ । उप–प्रधानमन्त्री कृष्णबहादुर महराले आफू सबैको साझा नेता भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभा दाङ निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित भए लगत्तै पहिलो प्रतिकृया दिदै महराले भने, ‘म निर्वाचित भइसकेपछि सबैको साझा प्रतिनिधि हुँ, मलाई मतदान गर्नुहुने र मतदान गर्न नसक्नुभएका आम जनसमुदायलाई समानरुपमा व्यवहार गर्ने छु ।’ महराले निर्वाचनमा सहयोग गर्ने आम मतदाताहरुलाई धन्यवाद समेत दिएका छन् । उनले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्ने नेपाली कांग्रेसका उम्मेदवार लगायत अन्य सबै उम्मेदवारहरुलाई पनि धन्यवाद दिएका छन् । ‘निर्वाचनमा विजय हुनु र विजय हुन नसक्नु स्वभाविक प्रकृया हो, जे भए पनि सबै उम्मेदवारहरुले स्वस्थ रुपमा प्रतिस्पर्धा गर्नुभयो, म उहाँहरुलाई धन्यवाद दिन चाहन्छु ।’ महराले आफूले निर्वाचनका क्रममा जनता सामु राखेका सबै प्रतिवद्धता पूरा गर्ने बताएका छन् । उनले भोली देखि नै दाङको विकासका लागि योजन निर्माणमा लाग्ने जानकारी दिए । ‘दाङलाई पाँच नं प्रदेशको राजधानी बनाउन म पहल गर्ने छु,’ उप–प्रधानमन्त्री महराले भने, ‘हामी यहि सरकार बाट पाँच नं प्रदेशको अस्थायी मुकाम दाङलाई तोक्ने छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?