भ्रष्टाचारजन्य क्रियाकलाप विश्वकै लागि चुनौती : प्रधानमन्त्री

 

काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचारजन्य क्रियाकलाप विश्वकै लागि चुनौती भएकाले सबै मुलुक मिलेर यसको सामना गर्नुपर्ने बताएका छन् ।

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रमलार्इ सम्बोधन गर्दै प्रधानमन्त्रीले अकूत र गैरकानुनी रुपमा आर्जित सम्पति अर्काे मुलुकमा समेत राखिने प्रवृत्ति देखिएकाले यसको नियन्त्रणका लागि सबै मुलुकको सहकार्यको खाँचो अाैंल्याए ।

उनले नेपाललाई भ्रष्टाचारविरुद्ध शून्य सहनशील मुलुकमध्येमा पार्न सरकार प्रयत्नशील रहेको उल्लेख गर्दै भ्रष्टाचारको नियन्त्रण र कारबाहीका लागि आयोगलाई आवश्यक स्रोत साधन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले भने, “सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएको छ, यसको कार्यान्वयन गरी समाजमा सदाचार स्थापनाका लागि सबैको स हयोग आवश्यक छ । यसका लागि विद्यमान कानूनमा आवश्यक पुनरावलोकनका लागि पनि हामी प्रयत्नशील छौँ ।”

आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले सरकारी सम्पतिको हानी नोक्सानी र दोहनको प्रवृत्ति बढिरहेको उल्लेख गर्दै भ्रष्टाचार बढेमा विकास र समृद्धिमा प्रतिकूल असर पर्ने बताए ।

उनले कुनै व्यक्ति विशेषलाई फाइदा पुग्ने गरी बनाइने नीति र कानून पनि भ्रष्टाचारजन्य क्रियाकलाप हुने भन्दै निजी क्षेत्रका भ्रष्टाचारलाई कानूनी दायरामा ल्याउन आवश्यक रहेको विचार व्यक्त गरे ।

मुख्य सचिव लोकदर्शन रेग्मीले भ्रष्टाचार मानव व्यवहारबाट सिर्जित कुकार्य भएकाले सबै पक्षबाट सर्वाेपरीरुपमा लागेमा यसको नियन्त्रण सम्भव भएको उल्लेख गरे ।

आयोगका सचिव राजन खनालले भ्रष्टाचारबाट आर्जित रकमले विश्वमा आतंककारी क्रियाकलाप समेत भइरहेकाले आयोगले भ्रष्टाचार नियन्त्रणका लागि प्रवद्र्धनात्मक, निरोधात्मक र दण्डात्मक रणनीति बमोजिम सुशासन गराउने कार्य गर्दैआएको बताए ।

नेपाल, सन् २००३ मा भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धिको पक्ष राष्ट्रभएदेखि हरेक डिसेम्बर ९ मा यो दिवस मनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?