दोस्रो चरणमा आज ४५ जिल्लाको निर्वाचनको मतदान अवधि सकियो

काठमाडौँ, २१ मंसिर – दोस्रो चरणमा आज ४५ जिल्लाको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको मतदान अवधि सकिएको छ । निर्वाचन आयोगले बिहान सातबजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो । यद्यपी ५ बजेभित्र मतदान केन्द्रमा पुगिसकेका मतदाताले भने ५ बजेपछि पनि मतदान गर्न पाउनेछन् छिटपुट घटनाबाहेक सवै जिल्लामा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ दोस्रो चरणको निर्वाचनमा झण्डै ६२ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ । यद्यपी आयोगले यसको पुष्टि भने गरिसकेको छैन दोस्रो चरणको प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ जम्मा १ हजार ६६३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रदेशसभा सदस्यतर्फ सातै प्रदेशमा गरी जम्मा २ हजार ८१९ जना उम्मेदवारहरू चुनावी मैदानमा छन् । यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका लागि २२० पदका लागि जम्मा ५ हजार ८३८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमध्येबाट ३८४ जना निर्वाचित हुनेछन् । मतपेटिका संकलन भइसकेपछि आजैबाट मतगणना गरिने निर्वाचन आयोगले जनाएको छ दोस्रो चरणको निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गरेका छन् आयोगका अनुसार दोस्रो चरणमा निर्वाचन हुने प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्रमा र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका ७ हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदानको व्यवस्था गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?