लोकमान गलाएका केसीले गोपाल खड्कालाई गलाउलान ?

काठमाडौं,२२ भदौ । सत्याग्रह मार्फतनै चिकित्सा क्षेत्र सुधार र भ्रष्टाचार अन्त्यको माग राख्दै आएका डा. गोबिन्द केसीको निशानामा अब आयल निगमका प्रमुख गोपाल खड्का परेका छन ।बुधबार विज्ञप्ति निकालेर डा. केसीले आन्तरिक राजस्व विभागका निलम्बित प्रमुख डा. चूडामणि शर्मादेखि आयल निगमका प्रमुख गोपाल खड्कालाई निशाना बनाउने बताएका हुन । यस अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख आयुक्त लोकमान सिंह कार्किलाई संसदबाट महाअभियोग लगाउन माग गर्दै उनी अनसन बसेका थिए । कार्कि विरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको भएपनि नियुक्तिका लागि कार्कि अयोग्य रहेको रिटमा सुनुवाई गर्दै सर्वोच्चको आदेशले बर्खास्तको आदेश गरे संगै कार्कि बाहिरीसकेका छन ।डा. गोबिन्द केसीले बुधवार जारी गरेको विज्ञप्त्मिा आन्तरिक राजस्व विभागका निलम्बित प्रमुखदेखि अरबौं भ्रष्टाचार र अनियमिततामा मुछिएका आयल निगमका प्रमुख गोपाल खड्का लगायत चिनिएका भ्रष्टहरुलाई राजनीतिक दलहरुले दिएको संरक्षणले भ्रष्टाचार र लुटतन्त्रलाई झनै बढावा दिएको भन्दै पुन अनसन बस्ने चेतावनी दिएका छन । सञ्चार माध्यममा प्रमाणसहित भ्रष्टाचारका विवरण आउँदा पनि सरकारले बर्खास्त नगर्नु र अख्तियारले समेत छानविन नगर्नुले निरपेक्ष दण्डहीनता सिर्जना गरेको डा. केसीको विज्ञप्तिमा उल्लेख छ । डा. केसीले त्रिवि पदाधिकारीहरुको चर्को अनियमितताबारे दर्जनौं उजुरीहरु पर्दासमेत अख्तियारले छानविन अघि नबढाउनुले पनि संवैधानिक निकायको कार्य सम्पादनमाथि प्रश्न उठेको भन्दै यस्तो चौतर्फी भ्रष्टाचार र दण्डहीनता आफ्नोे अभियानको अबको चरणको निशाना बन्ने उल्लेख गरेका छन ।डा. केसीले बुधबार गर्ने भनिएको अनसन भने स्थगित गरेका छन । नेशनल मेडिकल कलेजको सम्बन्धन सरकारले खारेज गरेको र चाडपर्वहरु नजिकिएकाले अनसन स्थगित गरेको केसीले बताएका छन । उनले गत भदौ ११ गते प्रेस विज्ञप्ती जारी गरी नेशनल मेडिकल कलेजको सम्बन्ध खारेज नगरे भदौ २१ गतेदेखि १२ औं आमरण अनसन बस्ने चेतावनी दिएका थिए ।डा केसीले चिकित्सा शिक्षा विधेयक परिमार्जनसहित पारित गर्नुपर्ने अडान केसीले कायमै राखेका छन । तर विधेयक पारित गर्न संसदले देखाएको उदासिनताप्रति आफ्नो ध्यानाकर्षण भएको केसीले बताएका छन ।चिकित्सा शिक्षा विधेयक पारितसँगै उनले त्रिवि पदाधिकारीहरुलाई बर्खास्त गरी कारवाही गर्दै आइओएमबाट खोसेर लगिएका अधिकारहरु तत्काल आइओएममै फर्काउनुपर्ने, काठमाडौं नेशनलको खाली भवनलाई मापदण्ड पुगेको भनेर प्रतिवेदन दिने टोली तथा सो कलेजसँगै अरु तीन उस्तै कलेजहरुमा मापदण्ड पुगेको भनेर फर्जी प्रतिवेदन दिने व्यक्तिहरुमाथि तत्काल छानविन गरेर कारवाही हुनपर्ने माग केसीले राखेका छन ।यी मागहरु पूरा नभएमा तथा विगतका सम्झौता प्रतिकुल हुने गरी कुनै पनि काम भएमा तत्काल सत्याग्रह शुरु गर्ने डा. केसीले चेतावनी दिएका छन ।आयल निगमको जग्गा खरिद प्रक्रियामा अनियमितता भएको प्रमाण सञ्चार माध्यम र संसदको विकास समितीले समेत प्राप्त गरिसक्दा खड्कालाई निलम्बन गर्न नसक्नुका पछाडि ठुलै राजनीतिक संरक्षण भएको अनुमान गरिएको छ । खुलेआम अनियमितताका समाचारहरु सार्वजनिक भैरहँदा राजनीतिक दलहरु र सरकारले खड्कालाई अनुसन्धानको दायरामा ल्याउन नसकेको भन्दै आलोचना भैरहेका बेला डा. केसीले अबको चरणको आन्दोलनमा यो विषयलाई गम्भिरताका साथ उठाउने बताएका छन । अख्तियारका तत्कालिन प्रमुखले नै भ्रष्टाचारलाई प्रश्रय दिएका कारण उनलाई महाअभियोग लगाउनुपर्ने पहिलो माग डा. केसीले राखेका थिए । डा.केसीलाई कार्किले पागलको संज्ञा दिएपछि डा. केसीका हजारौं समर्थक म भ्रष्टाचार विरोधि पागल हुँ लेखेका प्ले कार्ड बोकेर सडकमा निस्किएका थिए ।डा .केसीले आयल निगमको भ्रष्टाचारको विषय जोडतोडका साथ उठाउने बताए पछि राजनीतिमा यस्ले नयाँ तरंग थपिदिएको छ । आँफुलाई निकै शक्तिशाली बताउने आयल निगम प्रमुख खड्काका विरुद्ध बोल्दा आँफुहरुको ज्यान असुरक्षित भएको यस अघि नेकपा एमालेका सांसद रामवीर मानन्धरले बताएका छन । गोबिन्द केसीको सत्याग्रहले अर्बौ अनियमिततामा मुछिएका गोपाल खड्का लगायतका व्यक्तिहरु अनुसन्धानको दायरा भित्र आउलान या नआउलान, प्रतिक्षाकै विषय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?