काँग्रेस नेता केसीसँग युरोपेली प्रतिनिधिमण्डलको भेट, के भयो छलफल ?

काठमाडौँ, २० मंसिर – नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीसँग युरोपेली संघको निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलले आज उनकै निवास गोंगबुमा शिष्टाचार भेट गरेको छ । युरोपेली सांसद नीना गिलले नेतृत्व गरेको चार सदस्यीय प्रतिनिधिमण्डलले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन पर्यवेक्षणको सिलसिलामा सरोकारवाला पक्षसँगको भेटघाट गर्ने क्रममा पूर्वमन्त्री एवं काँग्रेस नेता केसीसँग भेटेको हो । यसअघि सो प्रतिनिधिमण्डलले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग आजै भेट गरेको थियो । सो अवसरमा प्रतिनिधिमण्डल प्रमुख गीलबाट समावेशी प्रजातन्त्र, मानवअधिकार र नेपालको पछिल्लो राजनीतिक स्थितिबारे जिज्ञासा राख्दै संसदीय मूलधारमा आइसकेको वाम गठबन्धन र नेपाली काँग्रेस पार्टीबीचको भिन्नताका बारेमा जानकारी माग भएको थियो । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा निर्वाचन आचारसंहिता पालना भए÷नभएको विषयमा ध्यानाकर्षण गर्दै गिलबाट निर्वाचनपछि चुनावी परिणाम र नेपालको भावी मार्गचित्रबारे जिज्ञासा पनि आएको थियो । काँग्रेस नेता केसीले निर्वाचन आयोगलाई साधनस्रोत सम्पन्न गरी अझ जवाफदेही र विश्वसनीय बनाउनुपर्नेमा जोड दिँदै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना हुन नसकेको तथा सिद्धान्त र निष्ठाको राजनीति समाप्त हुन लागेको भनी चिन्ता व्यक्त गरे । उनले संसदीय व्यवस्था स्वीकार गरी निर्वाचन प्रक्रियामा समावेश भएको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सम्मिलित वाम गठबन्धनले संवैधानिक व्यवस्था विपरीत अहिले राष्ट्रपतीय प्रणालीको वकालत गर्न थाल्नु राजनीतिक बेइमानी भएको बताए । काँग्रेस नेता केसीले वाम गठबन्धनसमेतको सक्रिय सहभागितामा ल्याइएको विद्यमान संविधानलाई कार्यान्वयन लानुपर्ने समयमा नेतृत्व तहबाटै राष्ट्रपतीय प्रणाली कायम गर्ने र आगामी ५० वर्षसम्म एकछत्र शासन गर्ने भनाइ आउन थाल्नु नेपाल र नेपालीको लागि दुर्भाग्य भएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?