बिरामीको उपचारमा खटाइनुअघि लिइने लाइसेन्स परीक्षामा एमबीबीएस डाक्टर अनुत्तीर्ण हुने दर बढेसँगै विज्ञहरूले चिकित्सा शिक्षा प्रणाली सुधार्न सुझाएका छन् । नेपाल मेडिकल काउन्सिलले लिने परीक्षामा यसपालि झन्डै ६२ प्रतिशत डाक्टर अनुत्तीर्ण भएपछि उनीहरूले शिक्षा प्रणालीमै गडबडी औंल्याएका हुन् विकसित मुलुकझैं नेपालमा पनि चिकित्साशास्त्रमा स्नातक अर्थात् एमबीबीएसपछि लाइसेन्स परीक्षा पास गरेकाले मात्र उपचार ‘प्राक्टिस’ गर्न पाउने कानुुनी व्यवस्था छ । सर्वोच्च अदालतले २०५८ फागुन २५ गतेभन्दा पछि एमबीबीएस पढेर आउने सबैलाई लाइसेन्स परीक्षा अनिवार्य गरेको छ शनिबार लिइएको परीक्षामा १ हजार २ सय २ जना एमबीबीएसमा सरिक भएकामा ४ सय ६१ जना मात्र उत्तीर्ण भए । यस्तै दन्तचिकित्सा विज्ञानमा स्नातक अर्थात् बीडीएस गर्ने ८५ डाक्टरमध्ये ४३ जनाले मात्र उत्तीर्ण गरे ‘एमबीबीएस ६१.७ र बीडीएस गरेका ४९.४२ प्रतिशत फेल भएका छन्,’ काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्माले भने । अघिल्लो परीक्षामा एमबीबीएस गरेका ५६ प्रतिशत फेल भएका थिए । ‘यो परिणामले स्पष्ट देखाउँछ कि चिकित्साशिक्षा प्रणालीमा केही गडबडी छ, यसलाई सुधार्नुपर्छ नत्र फेल हुनेको संख्या अझ बढ्न सक्छ,’ चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्राडा जगदीशप्रसाद अग्रवालले भने । काउन्सिलका केही पदाधिकारीका अनुसार लाइसेन्स परीक्षाको प्रश्नपत्र असाध्यै सामान्य प्रकारको हुन्छ । साढे पाँच वर्षसम्म एमबीबीएस पढाइ गरेकाले सहजै ९० प्रतिशत अंकसम्म ल्याउन सक्ने उनीहरूको दाबी छ, कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया