विराटनगरवासीको एउटै स्वर : आश्वासन होइन विकास, डुबान होइन निकास

विराटनगर, १५ मंसिर । नेपालकै पुरानो औद्योगिक नगर विराटनगरमा अठार वर्षपहिले उद्घाटन भएको रिङरोड आजसम्म पूरा भएको छैनभन्दा जोकोहीलाई अनौठो लाग्छ विराटनगरलाई १ नं प्रदेशको राजधानी बनाउने सबै राजनीतिक दलको साझा एजेण्डा बन्दा पनि विकासका ठूला आयोजना अलपत्र परेकामा यहाँका बासिन्दा चिन्तित छन् । अठार वर्षअघि ४२ किलोमिटर लामो रिङरोडको शिलान्याश गरेका तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदार दर्जनौँ पटक मन्त्री, उपप्रधानमन्त्री भए, विभिन्न दल बने तर यतिका समयसम्म रिङरोडको ट्र्याकसम्म खोलिएन, गुनासो र रिस मिश्रित स्वर ओकल्छन् विराटनगरवासी प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव आउन एक हप्ताअघि मात्र बाँकि हुँदा विभिन्न राजनीतिक दलका उम्मेदवार भोट माग्न घरदैलो, भेला, आमसभा गरिरहँदा आश्वासन बढी र विकास कम गरेको गुनासो गर्छन होटल व्यवसायी सुन्दर भण्डारी । उनले थपे, “धुवाँ, धुलोले अस्तव्यस्त छ मूल सडक । ठूलो जिल्ला भए पनि भित्री सडकको विस्तार अझै भएको छैन । बर्खायाममा पूर्वतर्फको सिंघिया खोला र पश्चिमतर्फ केशलिया खोलाले वरिपरिका बस्ती डुबानमा पार्छ । दिगो तटबन्ध छैन । देशी–विदेशी पर्यटक आउँदा हेर्न लायक केही ठाउँ छैन, रम्ने पार्क पनि छैन ।”विराटनगर बजारकै मिना क्षेत्री भने, “हामी भोट हाल्न आतुर छौँ तर हाम्रा लागि नेताहरु बाटोघाटो, ढल निकास बनाउन आतुर छैनन् । वर्षामा हामी सधैँ कति डुबानमा परिराख्ने ?”देशका आधा दर्जन प्रधानमन्त्री पाएको यस जिल्लाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा भने फड्को मार्न खोजेकामा उनीहरु सहमत छन् स्थानीय पत्रकार विक्रम निरौलाका अनुसार १८ वर्षअघि शिलान्याश भएको रिङरोड समयमा बनेको भए विराटनगरको विकास र समृद्धि निक्कै तीव्र हुन्थ्यो अर्का पत्रकार उद्धव घिमिरे थप्दै भने, “काठमाडौँमा मेलम्चीको पानी आउन लाग्यो तर यहाँ भने अझे रिङरोड पनि नबन्ने भयो ।” राजनीतिक भाषण र घोषणापत्रमा सधैँ पर्ने र वर्षैपिच्छे बजेट आउने तर कार्यान्वयन नहुने र राजनीतिक नेतृत्वले स्वार्थ साँध्ने हुँदा जुन गतिमा विकास हुनुपथ्र्यो त्यो नभएको उनको निष्कर्ष छ त्यसो त मोरङ जिल्लामा थुप्रै उच्चस्तरका राजनीतिकर्मी, नेता नभएको त कहाँ हो र ? यो जिल्लाले देशलाई थुप्रै प्रधानमन्त्री, मन्त्रीहरु बनाएको इतिहास साक्षी छ । यस पटक पनि नेपाली काँग्रेसका नेता डा शेखर कोइराला, पूर्वअर्थमन्त्री महेश आचार्य, पूर्वमन्त्री डा मीनेन्द्र रिजाल, एमालेका पूर्वमन्त्री लालबाबु पण्डित, भानुभक्त ढकाललगायतका नेताहरु चुनावी मैदानमा उत्रिएका छन् छवटा निर्वाचन क्षेत्र रहेको मोरङ जिल्लामा देशकै सम्भवतः धेरै ६ लाख ४४ हजार मतदाता छन् । स्वच्छ राजनीतिक छवि, जनतामा पहुँच, विकासमा योगदान, केन्द्रमा सम्बन्ध, बौद्विक क्षमता, पार्टी संगठनमा पकड तथा कार्यकर्ताबीच लोकप्रियताका आधारमा मतदाताले आ–आफ्ना नेताको हारजितको अनुमान लगाइरहेका छन् नाम उल्लेख नगर्ने शर्तमा एक सचेत मतदाता भन्नुहुन्छ, “मोरङमा यस पटक टुरिस्ट नेता पनि चुनाव लड्दैछन्—कोही बाहिरबाट आएका त कोही जिल्लाभित्रकै टुरिस्ट !”विराटनगरवासीले भनेजस्तै विकासका कार्यक्रमलाई तीव्रता दिन अब हुने नेता, नेतृत्व लिन तयार होलान–नहोलान तर विराटनगरवासी भोट खसाल्न आतुर छन्, आतुर छन् निर्वाचन परिणाम सुन्न पनि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?