मस्जिद आक्रमणको बदला लिने राष्ट्रपति सिसीको चेतावनी

कायरो, ९ मंसिर । इजिप्टका राष्ट्रपति अब्दुल फतह अल सिसीले २ सय ३५ जनाको मृत्यु हुनेगरी साइनाइस्थित एक मस्जीदमा गरिएको आक्रमणको बदला लिने प्रतिबद्धता जनाएका छन् । देशबासीका नाममा टेलिभिजन सम्बोधन गर्दै उनले पूर्ण शक्तिका साथ हमलाको बदला लिने चेतावनी दिएका हुन् । इजिप्टको साइनाइ प्रायद्वीपस्थित एक मस्जिदमा विद्रोहीले गरेको आक्रमणमा परी २ सय ३५ जनाको मृत्यु भएको छ भने अन्य १ सय २० भन्दा बढी घाइते भएका छन् । आक्रमणमा परी मृत्यु हुनेहरुमा महिला र बालबालिका समेत रहेका छन् । बन्दूकधारीहरुले उत्तरी गाउँ अल–रावडामा रहेको सो मस्जिदमा प्रवेश गरी बम पड्काउनुका साथै घाइतेको उद्धारका लागि आएका एम्बुलेन्सहरुमाथि समेत गोली चलाएका थिए । मस्जिद आक्रमणमा ठूलो संख्यामा मानिसहरु हताहत भएपछि इजिप्टमा तीन दिन राष्ट्रिय शोकको घोषणा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?