पर्यटनसँग साइनो देखाएर मतदाता प्रभावित पार्दै उम्मेदवार

पोखरा, ८ मंसिर । हिमाल र पद्यात्रा मार्गका कारण विश्वव्यापी रुपमा नै ख्याती कमाएको कास्की क्षेत्र नं ३ का पर्यटकीय भू–भागमा यतिखेर उम्मेदवार भोट माग्न व्यस्त देखिएका छन् संसारकै उत्कृष्ट राउण्ड अन्नपूर्ण पद्मार्गका अधिकांश भू–भागमा पर्ने अन्नपूर्ण गाउँपालिका र पोखराको पर्यटनको महत्वपूर्ण प्राकृतिक आधारस्तम्भ माछापुच्छे हिमाल रहेको माछापुच्छे गाउँपालिका यही निर्वाचन क्षेत्रअन्तर्गत पर्दछ चराजस्तै प्याराग्लाइडिङ गरी उड्ने ठाउँ पोखराको सराङ्कोट र यहाँस्थित फेवाताल पनि यहीं पर्दछ । पोखरा–लेखनाथ महानगरपालिकाअन्तर्गतका १, २, ३, ५, ६, १८, १९, २२, २३, २४ र २५ नं वडा यही निर्वाचन क्षेत्र अन्तर्गत पर्दछन् तीन निर्वाचन क्षेत्र भएको कास्कीका कूल दुई लाख ५५ हजार ४५२ मतदातामध्ये आसन्न मंसिर २१ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा यस क्षेत्रबाट कुल ८८ हजार ७१७ मतदाताले मतदान गर्दैछन् । जिल्लाकै महत्वपूर्ण पर्यटकीय क्षेत्र भएका कारण मूल रुपमा पर्यटनकै नारा लिएर उम्मेदवार घरदैलोमा गएको घान्द्रुकका मतदाता रविन गुरुङले बताए “यहाँका पदमार्गको स्तरोन्नति, आवश्यक पूर्वाधारको विकास, कृषिको आधुनिकीकरण र ऊर्जाको विकास गर्छौं भन्दै उम्मेदवारले भोट माग्नु भएको छ,” उनले भने, “उम्मेदवारको पहिलो प्राथमिकतामा भने पर्यटन पर्ने गरेको छ ।”नेपाली काँग्रेस र वाम गठबन्धनबीच नै मुख्य प्रतिष्पर्धा हुने अनुमान गरिएको यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि काँग्रेसका शुक्रराज शर्मा र वाम गठबन्धनका जगत विश्वकर्मा चुनावी प्रतिष्पर्धामा हुन कास्की क्षेत्र नं ३ को आर्थिक समृद्धिको महत्वपूर्ण आधार पर्यटन नै भएको काँग्रेसक उम्मेदवार शर्मा बताए । “यस क्षेत्रमा पर्यटकको आगमनलाई बढाउन पद्मार्गको स्तरोन्नति, होटल तथा आवश्यकताअनुसार होमस्टेको विकासलाई हामीले उच्च प्राथमिकतामा राखेको छौं” उनले भने उपलब्ध जलस्रोतको अधिकतम उपयोगमार्फत जलविद्युत् आयोजनाको विस्तार, जडीबुटीको उपयोग र कृषिको आधुनिकीकरणलाई अघि बढाइने उनले बताए । अन्नपूर्ण, माछापुच्छ«े, हिमचुली र गंगापूर्णबाट बग्ने मोदी खोला, मर्दी, सेती र लस्ती जस्ता खोलाबाट जलविद्युत् आयोजना सञ्चालन गर्न सकिन्छ विश्वमा नै चर्चा कमाएका पदमार्ग यही क्षेत्रमा पर्ने भएकाले पदमार्गको स्तरोन्नति पनि उम्मेदवारका लागि भोट माग्ने माध्यम बनेको छ । यहाँको नयाँ पुलदेखि वीरेठाँटी– घान्द्रुक, नयाँपुल, विरेठाँटी , तिखेढुंगा, उल्लेरे, घोरेपानी, नयाँपुलदेखि घान्द्रुक हुँदै छोम्रोङदेखि अन्नपूर्ण बेसक्याम्पसम्मको पदमार्ग निकै चर्चित पदमार्ग हो भने अन्य विभिन्न पदमार्ग पनि महत्वपूर्ण छन् घान्द्रुक, छोम्रोङ, झिनु, लान्द्रुक, वीरेठाँटी, नयाँपुल, ताञ्चोक, लुम्ले, ठूलाखर्क, पोथना, मिर्सागाउँ र धम्पुसको हेम्जाकोट तथा घाचोकका विभिन्न गाउँले स्वदेशी एवम् विदेशी पर्यटकलाई लोभ्याउने गरेका छन् यस क्षेत्रमा पर्ने अन्नपूर्ण पहिलो, माछापुच्छे हिमाल आदि पर्यटक लोभ्याउने प्रकृति पदत्त उपहार हुन् । फेवातालसहित माछापुच्छे, अन्नपूर्ण जस्ता हिमालका कारण यस क्षेत्रमा पर्यटन विकासको प्रचुर सम्भावना भएको वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार जगत विश्वकर्मा बताए पर्यटकको आगमनलाई बढाउनुका साथै यहाँ आउने जो कोही पर्यटकलाई स्वस्थ खाना खुवाउन कृषिको व्यवसायीकरणको पनि सँगसँगै विकास गरिनुपर्ने उहाँले बताए । “पर्यटन, ऊर्जाका साथै कृषिको आधुनिकीकरणका माध्यमबाट यहाँका जनतालाई समृद्ध बनाउन सकिन्छ”– उनले भने । यस क्षेत्रका केही वडामा लघु जलविद्युत् आयोजना पनि सञ्चालन गरिएको छ सांस्कृतिक रुपमा सम्पन्न रहेको यस क्षेत्रको अन्नपूर्ण आधारशिविर जाने मार्गमा पर्ने पूजनीयम् बराज जस्ता महत्वपूर्ण धार्मिकस्थलको विकास गरी धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सक्ने देखिन्छ यहाँका लेकमा पाइने पाँचऔंले, सतुवा, वन लसुनजस्ता जडीबुटीका साथै टुसाको व्यापार पनि आय आर्जनको महत्वर्पूण स्रोत बन्ने देखिन्छ । यहाँका आलुको लागि प्रसिद्ध हेम्जाका साथै घाचोकको काङमाङ र लम्साल फाँट, लाहाचोकको फाँट, माछापुच्छे को काउरे फाँट, सार्दीखोला र रिभानका फाँट व्यवसायिक कृषिका सम्भावनायुक्त ठाउँ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?