७ वर्ष जेल बसेपछि निर्दोष साबित!

काठमाडौँ, ७ मङ्सिर- साबिकको भलाक्चा तथा अहिलेको मुसीकोट नगरपालिका–११ का द्रोण पुनको २०६७ मा हत्या भयो । हत्यामा संलग्न आरोपमा मुसीकोट नगरपालिका–११ कै किरण केसी र १२ का पूर्णबहादुर ओली समातिए । उनीहरूविरुद्ध कर्तव्यज्यान मुद्दामा जन्मकैदको फैसला भयो । रुकुम जिल्ला अदालतले २०६९ असार १९ मा दुवैलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गर्‍यो । उनीहरू जिल्ला अदालतको फैसला पुनरावलोकनका लागि पुनरावेदन अदालत तुलसीपुर पुगे । २०७० वैशाख १६ मा पुनरावेदनले पनि जिल्ला अदालतकै फैसला सदर गर्‍यो जिल्ला र पुनरावेदन अदालतको फैसलाअनुसार जन्मकैद भुक्तान गरिरहेका ओली र केसी लामो समयपछि निर्दोष साबित भएका छन् । सर्वोच्चको मंगलबारको फैसलाअनुसार अहिले दुवै जेलमुक्त भइसकेका छन् । ओली ७ वर्षपछि निर्दोष साबित भए भने केसीले ५ वर्ष कैद भुक्तान गरिसकेपछि निर्दोष भएको फैसला आयो । केसी र ओली पुनरावेदन अदालतको फैसलाप्रति चित्त नबुझेपछि सर्वोच्च पुगेका थिए । ओली ७ वर्षपछि जिल्ला कारागार शाखा रुकुम पश्चिमबाट छुटे भने केसी दाङको तुलसीपुर अदालतबाट छुटे । ‘ढिलै भए पनि हाम्रो पक्षमा न्याय भयो,’ ओलीले भने, ‘खाएको विष पो लाग्छ त, खाँदै नखाएको विष लाग्यो हामीलाई ।’ आफू संलग्न नभएको घटनामा राज्यले फसाएको ओलीको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?