जब प्रचण्डले सुने छोराको मृत्युको खबर…

काठमाडौँ, ५ मङ्सिर- माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार नै झापा पुगेका थिए । पूर्वका चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड एमाले अध्यक्ष केपी ओलीसँगै झापा गएका थिए । शनिबारका लागि तय भएको कार्यक्रम सकेपछि प्रचण्ड केहीबेर ओली निवासमा बसे, अनि बिर्तामोड आए । बी एन्ड सी हस्पिटलको ‘गेस्ट हाउस’मा रात बिताए , नयाँ पत्रिकामा खबर छ आइतबार बिहानै प्रचण्डको कानमा दुःखद् खबर ठोक्कियो, त्यतिवेला उनी ‘मर्निङ वाक’मा निस्किँदै थिए । श्रीमती सीताले बिहान ५ः४५ बजे टेलिफोन गरेर घटनाबारे जानकारी गराउँदा उनी गेस्ट हाउसबाट ओर्लिंदै थिए । तर, छोराको निधनको खबर सुनेलगत्तै प्रचण्ड थुचुक्कै बसे, नयाँ पत्रिकामा खबर छ प्रचण्डसँगै रहेका बी एन्ड सी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले भने, ‘फोन राख्नेबित्तिकै मलाई ‘दुर्गाजी’ भन्नुभयो, त्यहाँभन्दा अरू केही बोल्न सक्नुभएन, मेरो हात समातेर थचक्कै भुइँमा बस्नुभयो ।’घटनाबारे जानकारी पाएपछि भावविह्वल बनेका प्रचण्डलाई तत्काल बी एन्ड सी हस्पिटल पुर्‍याइयो । उनी हस्पिटल पुगेको डेढ घण्टापछि काठमाडौंबाट उनलाई लिन हेलिकोप्टर पुग्यो । हस्पिटलको छतमा ‘ल्यान्ड’ गरिएको हेलिकोप्टर चढेर प्रचण्ड बिहान ८ः४० बजे राजधानी फर्किए । घटनाबारे जानकारी पाउनासाथ बिहान ओली पनि प्रचण्डलाई काठमाडौं बिदा गर्न बिर्तामोड पुगे । ओलीसँग हात मिलाएर प्रचण्ड काठमाडौंका लागि उँडे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?