टिमुर खेतीतर्फ आकर्षित बागलुङका युवा

appharu
0
Shares

काठमाडौं । बागलुङ नगरपालिका–१२ अमलाचौरका युवाले व्यावसायिक रूपले टिमुर खेती गर्न थालेका छन् ।

बाँझो जमीनमा फैलिएको बनमारा फँडानी गरेर उनीहरूले टिमुरको बिरुवा लगाएका हुन् । मसलाका लागि प्रयोग हुने टिमुरको माग बजारमा उच्च रहेकाले व्यावसायिक रूपले खेती गरिएको स्थानीय युवा कृषक राजु शाहीले बताए ।

पहिलो चरणमा झण्डै एक रोपनी जमीनमा टिमुरका बिरुवा लगाइएको छ । थोरै लगानी र कम मेहिनतले राम्रो आम्दानी हुने देखेर उक्त खेती गरिएको उनले जानकारी दिए ।

विभिन्न पेशा व्यवसायमा रहेका पाँच युवाले समूह बनाएर अमलाचौरको ढाँडबाट बसाइ सरेर जानेहरुले छोडेको बाँझो जग्गाको सदुपयोग गर्न थालेका हुन् ।

“बाँझो जग्गाको सदुपयोग हुने र उत्पादन लागतसमेत कम हुने भएकाले टिमुर खेती थालेका हौँ” कृषक शाहीले भने, “केही वर्ष मेहिनत गर्न सके टिमुरले राम्रो आम्दानी दिन्छ,अहिले लगाइएका बिरुवा हुर्किन थालेपछि आसपासमा रहेका थप जमीनमा टिमुर लगाउने योजना बनाएका छौँ ।”

उक्त बिरुवा लगाएको चारदेखि पाँच वर्षमा फल दिन थाल्छ । एक एक याममा एउटै बोटमा १५ देखि २० किलो ग्रामसम्म टिमुर फाउन सकिने अँखेली बताए ।

एक किलोग्राम टिमुरको बजार मूल्य दुई हजार ३०० देखि दुई हजार ५०० सम्म रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?