३० वर्षपछि फरार अभियुक्त पक्राउ

काठमाडौं | गण्डकी प्रदेशअन्तर्गत ३० वर्षपछि फरार अभियुक्त भ्यान्टे कामीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी निरीक्षक वसन्त पाण्डेको नेतृत्वमा सादा पोशाकमा गएको प्रहरी टोलीले दूधपोखरी गाउँपालिका–४ घर भएका उनलाई सोही क्षेत्रबाट शुक्रबार साँझ प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तत्कालीन इलाम पोखरी गाविस–५ र हाल उक्त गाउँपालिका–४ बस्ने कामीलाई जिल्ला अदालतबाट २०४८ माघ १३ गते जन्मकैदको फैसला भई सर्वोच्च अदालतले समेत सोही फैसला सदर गरेको प्रहरीले जनाएको छ ।
पक्राउ गरेका कामीलाई आइतबार अदालतमा लगेर केही प्रक्रिया मिलाएर जिल्ला कारागार लगिने प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले बताए ।

तत्कालीन इलाम गाविसमा बेदप्रसाद पोख्रेललाई धेरै पैसा ल्याएको आशङ्कामा कामी लगायतको पाँच जनाको टोलीले ढुङ्गाले हानेर कर्तव्य गरी मारेको थियो ।

उनको साथबाट नगद रु चार हजार लुटी पाँच जनाले बाँडीचुडी लिएका थिए । मृतकका दाजु कृष्णप्रसाद पोख्रेलले कामीसहित पाँचजना विरुद्ध जिल्ला अदालतमा २०४८ असोज १८ गते मुद्दा गरेका थिए ।

सोही समूहमा रहेका एक जनाले सजयाँ भोगिसकेका छन् भने बाँकी अझै तीनजना फरार रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?