वीरगन्ज । वीरगन्ज कारागारबाट फरार एक कैदी पाँच घण्टापछि पक्राउ परेका छन् ।
जबरजस्ती करणी मुद्दामा १५ वर्ष कैद भुक्तान गर्दै आएका सुनिल साह तुरहा कारागारबाट फरार भएको ५ घण्टापछि पक्राउ परेका हुन् ।
पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ सतवरिया घर भएका ३० वर्षीय तुरहा बिहीबार बिहान ८ः२० बजे कारागारबाट फरार भएका थिए । उनी सरसफाइ गर्ने बहाना गरी कारागार कार्यालयको प्यारोल शाखाको पर्खाल छेउबाट फरार भएको वीरगन्ज कारागार कार्यालयका निमित्त प्रमुख देवनाथ साहले बताए ।
भारतको विहार जिल्ला मोतिहारी थाना आदापुर पुगिसकेको समयमा तुरहा पक्राउ परेको पर्साका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए । नेपाल भारत सीमाक्षेत्र उपार पुग्न थालेको समयमा उनलाई नियन्त्रणमा लिन प्रहरी सफल भएको उनको भनाइ छ ।
पर्सा जिल्ला अदालतले २०७५ साल कात्तिक १४ गते जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरी कैद भुक्तानका लागि कारागार पठाएको प्रहरी उपरीक्षक भट्टराईले बताए ।
तुरहा २०८९ सालमा कैद भुक्तान गरिसक्ने अवस्थामा थिए । २०७४ साल फागुन १७ गते जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परी पुर्पक्षका लागि थुनामै रहेको समयमा पर्सा जिल्ला अदालतबाट उनी दोषी ठहर भएको पाइएको कारागारका प्रमुख साहले बताए ।
कारागारबाट फरार भई पक्राउ परेका तुरहालाई अहिले पर्सा प्रहरीको थुनामा राखी थप अनुसन्धान भइरहेको पर्साका प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले बताए । उनलाई थप अनुसन्धान गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया