न्युयोर्कमा भवन भत्किँदा दुईको मृत्यु, १७ घाइते

लोकपथ
0
Shares

न्युयोर्क । अमेरिकाको न्युयोर्कस्थित ब्रुकलिनमा तीनतले भवन भत्किँदा दुई जनाको मृत्यु भएको छ भने सात बालबालिकासहित १७ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।

निर्माणस्थल नजिकैको उत्खनन क्षेत्रमा भवन खसेपछि भग्नावशेषमा फसेकाहरूको उद्धार गर्न २५० भन्दा बढी अग्निनियन्त्रक र स्वास्थ्यकर्मी परिचालन गरिएको थियो । उद्धारका लागि ड्रोन र खोजी कुकुरसमेत प्रयोग गरिएको थियो ।

अग्नि विभागकी आयुक्त लिलियन बोन्सिग्नोरले भग्नावशेषमा अझै कति जना फसेका छन् भन्ने यकिन नभएको बताएकी छिन् । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

निर्माणस्थलमा कामदारले उत्खनन गरिरहेका बेला भवन भत्किएको भवन विभागका आयुक्त अहमद तिगानीले बताएका छन् । उक्त स्थानमा तीनतले भवन निर्माणको स्वीकृति रहे पनि विकासकर्ताले नौतले भवन बनाउन अनुमति मागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?