हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीनजिक भएको दुर्घटनामा परी मृत्यु भएका १० जनामध्ये दुई जनाको पहिचान खुलेको छ ।
ईभीका चालक सर्लाहीको कबिलासी नगरपालिका–८ निवासी रविशंकरकुमार मण्डल र सर्लाही चक्रघट्टा गाउँपालिका ४ सुन्दरपुरटोल बस्ने सुवेक यादवको पहिचान खुलेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । अन्यको पहिचान खुल्न बाँकी छ ।
ललितपुरको टीकाथलीबाट छठ मनाउन ईभी गाडी रिजर्भ गरेर गाउँ फर्कँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको गाडी भीमफेदी–६ मा दुर्घटनामा परेको थियो । बिहीबार बिहान करिब ५ः४५ बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको गाडी सडकबाट करिब ७०० मिटर तल खसेको थियो ।
दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने घाइते हुनेको संख्या ६ पुगेको छ ।
घाइते हुनेमा मुकेश यादव, देवेन्द्र यादव, सञ्जय यादव, सुजन यादव र सक्षम यादव रहेका छन् । एक जना घाइतेको नाम भने खुल्न बाँकी छ । दुर्घटनामा मृत्यु हुनेमा तीन महिला, पाँच पुरुष र दुई बालिका रहेका छन् ।
दुर्घटनामा घाइते भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ का ३३ वर्षीय मुकेश यादवका अनुसार उनीहरू छठ मनाउन गाउँ फर्किने क्रममा थिए । ललितपुरको टीकाथलीबाट गाडी बुक गरी सर्लाहीतर्फ आउँदै गर्दा दुर्घटना भएको उनले बताए ।
हेटौँडा अस्पतालमा उपचाररत यादवले राति करिब २ः०० बजे टीकाथलीबाट यात्रा सुरु गरेको जानकारी दिए ।
उनका अनुसार गाडीमा आफूसहित करिब १४ जना सवार थिए । यात्रु अधिकांश एउटै गाउँका छिमेकी तथा आफन्त हुन् ।
आफ्नो परिवारका सदस्य भने गाडीमा नरहेको तर गाउँका छिमेकी र उनीहरूका आफन्तसँगै यात्रा गरिरहेको यादवले बताए । छठ पर्व मनाउन घर फर्किने क्रममा दुर्घटनामा परेपछि उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनास्थलमा खोजतलास तथा उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले बताए ।
उनका अनुसार दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन गरी खोजतलास भइरहेको छ ।
दुर्घटनाको जानकारी बिहान ५ः५५ बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी नायब निरीक्षक दीपेन्द्र ढकालको नेतृत्वमा सात जनाको टोली घटनास्थल पुगेको थियो । तत्पश्चात प्रहरी उपरीक्षक खत्रीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी टोली परिचालन गरिएको थियो ।
दुर्घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब आठ किलोमिटर उत्तरमा पर्छ । भिरालो क्षेत्रमा दुर्घटना भएकाले सुरक्षाकर्मीले घटनास्थलमा खोजतलास जारी राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया