वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रसारण संस्था बिबिसीविरुद्ध दायर गरेको अर्बौं डलरको मानहानिसम्बन्धी मुद्दा अघि बढ्ने भएको छ । संघीय न्यायाधीशले मुद्दा खारेज गर्न बिबिसीले गरेको प्रयास अस्वीकार गरेका छन् ।
ट्रम्पले सन् २०२१ जनवरी ६ मा क्यापिटलमा भएको आक्रमणअघि दिएको भाषणलाई बिबिसीले भ्रामक रूपमा सम्पादन गरी आफूले समर्थकलाई हिंसामा उक्साएको देखाएको आरोप लगाएका छन् । उनले कम्तीमा पाँच अर्ब अमेरिकी डलर क्षतिपूर्ति माग गरेका छन् ।
न्यायाधीश जेफ्री टी कुन्जले मानहानिसम्बन्धी दाबी अघि बढाउन अनुमति दिए पनि फ्लोरिडाको उपभोक्ता संरक्षण कानुनअन्तर्गतको दाबी खारेज गरेका छन् । बिबिसीले वृत्तचित्रको सम्पादनप्रति माफी मागिसकेको छ, तर ट्रम्पलाई वास्तविक क्षति पुगेको दाबी अस्वीकार गर्दै आएको छ ।
फैसलापछि ट्रम्पले यसलाई ‘ठूलो विजय’ भनेका छन् । उनले अमेरिकी जनतालाई धोका दिन खोज्नेहरूविरुद्ध लडिरहने बताएका छन् । यसअघि अदालतले उनलाई डिसेम्बर ११ भित्र मुद्दासम्बन्धी बयान दिन आदेश दिएको थियो । तोकिएको समयमा उपस्थित नभए मुद्दा खारेज हुन सक्ने चेतावनीसमेत दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया