बेपत्ता बालबालिकाको खोजीमा एआई

लोकपथ
14
Shares

मेक्सिको । मेक्सिकोमा एक लाख ३४ हजारभन्दा बढी बेपत्ता व्यक्तिको खोजीमा सघाउन कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग थालिएको छ । लामो समयदेखि बेपत्ता आफन्तको खोजीमा भौँतारिएका परिवारलाई सहयोग गर्ने उद्देश्यले दुईवटा एआई उपकरण विकास भइरहेका छन् । तीमध्ये एउटा उपकरणले बेपत्ता हुँदा बाल्यावस्थामा रहेका व्यक्तिको अहिलेको सम्भावित अनुहार तयार गर्न सघाउनेछ ।

मेक्सिकोमा आपराधिक समूहबीचको हिंसात्मक द्वन्द्वका कारण हजारौँ मानिस बेपत्ता भएका छन् । आफन्तको खोजीमा रहेका परिवारले वर्षौंदेखि सरकारी निकायबाट प्रभावकारी अनुसन्धान नभएको गुनासो गर्दै आएका छन् ।

भेरोनिका रोसास पनि त्यस्तै एक आमा हुन् । उनकी छोरा डिएगो सन् २०१५ को सेप्टेम्बरमा साथीहरूलाई भेट्न घरबाट निस्किएपछि मध्य मेक्सिकोको इकोटेपेक सहरबाट बेपत्ता भएका थिए । त्यसबेला उनी १६ वर्षका थिए ।

राज्यको अभियोजन कार्यालयले डिएगोलाई आपराधिक समूहले अपहरण गरेको जनाएको भए पनि कुन समूहले, किन अपहरण ग¥यो वा उनी जीवित छन् कि छैनन् भन्ने विषय अझै स्पष्ट भएको छैन ।

‘११ वर्ष बितिसक्यो, तर डिएगो कहाँ छ भन्ने मलाई अझै थाहा छैन । मेरो छोरालाई के भयो भन्ने पत्ता लगाउन मद्दत गर्ने कुनै अनुसन्धानको बाटो देखिएको छैन,’ ५२ वर्षीया रोसासले मेक्सिको सिटीमा न्यायको माग गर्दै आयोजित प्रदर्शनका क्रममा भनिन् ।

यस्तै घटनाले मेक्सिकोका दुई विश्वविद्यालयलाई बेपत्ता व्यक्तिको खोजीमा सहयोग गर्ने एआई उपकरण विकास गर्न प्रेरित गरेको छ । मेक्सिकोको प्रमुख सार्वजनिक विश्वविद्यालय राष्ट्रिय स्वायत्त विश्वविद्यालय (युएनएएम) ले ‘रेग्रेसा’ अर्थात् ‘फर्क’ नामक उपकरण विकास गरेको छ । यसले मानव शरीरको मापनसम्बन्धी विज्ञानको प्रयोग गरी बेपत्ता हुँदा बालबालिका रहेका व्यक्तिको उमेर बढ्दै जाँदा अनुहार कस्तो देखिन सक्छ भन्ने अनुमानित तस्बिर तयार गर्छ ।

अनुसन्धान वर्षौंसम्म लम्बिने गरेका कारण बेपत्ता व्यक्तिको अहिलेको उमेरअनुसारको तस्बिर उपलब्ध गराउन परिवारले लामो समयदेखि माग गर्दै आएका छन् । अमेरिका, भारत र चीनलगायत देशमा अपहरणमा परेका बालबालिका खोज्न अनुहार पहिचान र उमेरअनुसार अनुहार परिवर्तन हुने अनुमान गर्ने सफ्टवेयर प्रयोग भइसकेको छ ।

मेक्सिकोका केही अभियोजन कार्यालयले पनि यस्ता प्रविधि प्रयोग गर्छन् । तर, अधिकांश सफ्टवेयर खुला स्रोतका तस्बिर संग्रहमा निर्भर छन्, जसले मेक्सिकन नागरिकका सामान्य शारीरिक विशेषतालाई पर्याप्त रूपमा समेट्न नसक्ने समस्या छ ।

रेग्रेसाका विकासकर्ताले भने सयौँ तस्बिर र ७५ जना मेक्सिकन स्वयंसेवकबाट प्राप्त तथ्यांक प्रयोग गरी आफ्नै तस्बिर संग्रह बनाएका छन् । यसबाट मेक्सिकन नागरिकका अनुहारका विशेषता झल्किने तस्बिर तयार गर्न सहज हुने उनीहरूको अपेक्षा छ ।

परियोजनाकी संस्थापक मानवशास्त्री आना जुआरेजका अनुसार यो उपकरणले अनुहारको बाहिरी आकारमा परिवर्तन गर्ने वा चाउरी थप्ने सामान्य विधिभन्दा वैज्ञानिक दृष्टिकोण अपनाएको छ । यसले मानिसको खप्पर र अनुहारको संरचना उमेरसँगै कसरी विकास हुन्छ भन्ने आधारमा सम्भावित तस्बिर तयार गर्ने प्रयास गर्छ ।

यसैबीच, सरकारी अनुसन्धानको प्रभावकारितामा प्रश्न उठाउँदै आएका परिवारलाई सहयोग गर्न निजी इबेरो–अमेरिकी विश्वविद्यालयका मानवशास्त्री एमिलियानो जोला पनि एआईको प्रयोग गरिरहेका छन् । उनले बेपत्ता व्यक्तिको लिंग, उमेर र बेपत्ता हुँदाको परिस्थितिसम्बन्धी तथ्यांकको नक्सांकन गरिरहेका छन् । यसबाट परिवारले खोजीलाई थप केन्द्रित गर्न सक्ने उनको अपेक्षा छ ।

मेक्सिकोको सबैभन्दा बढी जनसंख्या भएको मेक्सिको राज्यका तथ्यांक अध्ययन गर्दा विद्यालय वा कामबाट घर फर्कने क्रममा बेपत्ता हुने युवतीको संख्या उल्लेख्य रहेको उनले पत्ता लगाएका छन् ।

रेग्रेसाबारे एएफपीबाट जानकारी पाएपछि रोसासले एआईको प्रयोगले बेपत्ता व्यक्तिको खोजीमा ठूलो परिवर्तन ल्याउन सक्ने बताइन् । ‘यो पहल निकै महत्वपूर्ण छ, किनभने बेपत्ता हुँदा बालबालिका रहेका उनीहरू अहिले त्यही उमेरमा छैनन्,’ उनले भनिन् ।

रोसासले छोरा डिएगोको १६ वर्षको उमेरको तस्बिर राखेर मेक्सिको सिटीको प्रमुख सडकमा अस्थायी सन्देश बाकससमेत स्थापना गरेकी छिन् । छोराको जन्मदिनका अवसरमा उनको अवस्थाबारे जानकारी वा शुभकामना सन्देशमार्फत कुनै सुराक प्राप्त हुने आशा उनले गरेकी छिन् ।

कार्ला लेचुगाले पनि सन् २०२५ मा आफ्ना १९ वर्षीय छोरा जेसुआ सिस्नेरोस बेपत्ता भएपछि खोजी समूह स्थापना गरेका थिए । उनीजस्ता परिवारले देशभरका चर्चमा दर्जनौँ ‘शान्ति बाकस’ राखेका छन् । ती बाकसमा बेपत्ता व्यक्तिबारे जानकारी संकलन गरिन्छ । परिवारले सार्वजनिक स्थानमा आफन्तका तस्बिर टाँस्दै आपराधिक समूहलाई गोप्य रूपमा सूचना दिनसमेत आग्रह गर्दै आएका छन् ।

‘हामीले केही मानिसलाई जीवितै फेला पारेका छौँ, तर दुर्भाग्यवश अरूलाई फेला पार्न सकेका छैनौँ,’ लेचुगाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?