गोरखा । चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा लेदो र गेग्र्यानसहित आएको बाढीले व्यापक क्षति भएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले बताइन् ।
चुमनुब्री गाउँपालिका–३ का बजारमा बाढीबाट धेरै क्षति भएको उनले बताइन् । आज बिहान ४ बजे ती गाउँमा बाढी पसेपछि नदी स्थानीय सुरक्षित स्थानतर्फ भागेका थिए ।
बाढीको जोखिमलाई ध्यानमा राखेर सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलले जानकारी दिए ।
यो बाढीले तल्लो क्षेत्र आरुघाटसम्म क्षति पुर्याउन सक्ने आशंका गरिएको छ । त्यसैले तटीय क्षेत्रमा रहेकाहरुलाई सतर्क रहन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. धर्मराज उप्रेतिका अनुसार बाढीले सिर्दिबास, जगत, यारी, तातोपानी, माछीखोला, सोती, आरुखेत, आरुघाटसम्म क्षति पु¥याउन सक्ने जोखिम छ । त्यसैले यी क्षेत्रमा रहेका बासिन्दा सतर्क हुनुपर्ने उनले बताए ।
मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाबाट पनि तटीय क्षेत्रका बासिन्दालाई एसएमएस पठाइसकिएको छ । महाशाखाका बाढीविज्ञ विनोद पराजुलीका अनुसार बाढी आरुघाटसम्म आइपुग्न करिब तीन घण्टा लाग्ने अनुमान छ । त्यसैले आरुघाटसम्मै सतर्क रहन आग्रह गर्दै एसएमएस पठाइएको उनले बताए ।
गोरखाको चुमनुम्ब्री गाउँपालिका वडा नम्बर ६ को चुम्चेत क्षेत्रबाट स्थानीय खोला हुँदै बाढी बूढीगण्डकीमा मिसिएको छ । बूढीगण्डकी मनास्लु हिमालको पूर्वी मोहोडा हुँदै बग्ने गरेको छ ।
बाढीको कारण अहिलेसम्म खुलेको छैन । माथिल्लो क्षेत्रमा पानी परेको रेकर्ड छैन । कतै पहिरो गएर बहाव रोकिएको र पछि बाँध फुटेर आकस्मिक बाढी आएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको विपद् प्राधिकरणले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया