दोधारा-चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि प्राविधिक टोली स्थलगत अध्ययनमा

लोकपथ
35
Shares

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नदीमा रहेको दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि प्राविधिक टोलीले स्थलगत अध्ययन सुरु गरेको छ ।

सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक जगतप्रसाद जोशीका अनुसार झोलुङ्गे पुलका विज्ञ इन्जिनियर प्रकाश बमसहितको प्राविधिक टोली दोधारा–चाँदनी पुगेर पुलको स्थलगत अनुगमन तथा निरीक्षणमा जुटेको हो ।

जोशीले अध्ययन टोलीले पुलको अवस्थाबारे विस्तृत अनुगमन गर्ने जानकारी दिए । उनले आफूहरू पनि पुलस्थल पुगेर अध्ययनमा सहभागी हुने बताए ।

भीमदत्त नगरपालिका र दोधारा–चाँदनी नगरपालिका जोड्ने उक्त पुलको एउटा पिल्लर भत्किनुका साथै पुलको करिब ६ मिटर भागमा समेत मर्मत गर्नुपर्ने देखिएपछि आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यसैबीच, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट पनि भत्किएको पुलको अनुगमनका लागि दोधारा–चाँदनी पुग्दैछन् । मुख्यमन्त्री भट्टसँगै प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको टोलीसमेत रहने जनाइएको छ ।

पुल पुनर्निर्माणका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले समेत समन्वय भइरहेको बताएका छन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ का सांसद ज्ञानेन्द्र महताले पुलको प्राविधिक निरीक्षणका लागि टोली पठाइएको जानकारी दिएका छन् । क्षेत्र नम्बर २ का सांसद दीपकराज बोहराले बाढीका कारण पुलको एउटा पिल्लर भत्किएको भन्दै सुरक्षाका लागि नागरिकलाई पुल वरपर नजान आग्रह गरेका छन् ।

पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले पनि पुल भत्किएको घटनाप्रति दुःख व्यक्त गर्दै सरकारलाई यथाशीघ्र पुनर्निर्माणको काम अघि बढाउन आग्रह गरेका छन् ।

लेखकले विसं २०५६ मा आफू कञ्चनपुरबाट निर्वाचित भएपछि महाकाली नदीमा झोलुङ्गे पुल निर्माण गरी दोधारा–चाँदनी जोड्ने प्रस्ताव गर्दा कतिपयले त्यसलाई असम्भव भनेको स्मरण गरेका छन् । उनका अनुसार त्यसै अवधिमा सरकारी बजेट र नेपाली प्राविधिकको संलग्नतामा ऐतिहासिक लामो झोलुङ्गे पुल निर्माण भएको थियो ।

पुलको पिल्लर भत्किएपछि अहिले आवागमन पूर्णरूपमा रोकिएको छ । प्राविधिक अध्ययनपछि पुल मर्मत तथा पुनर्निर्माणको आवश्यक प्रक्रिया अघि बढाइने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?