एपीएफ स्कुलमा घोटाला प्रकरणमा लेखा अधिकृत गुरुङविरुद्ध अख्तियारले थाल्यो अनुसन्धान, पाँचौंपटक म्याद थप

लोकपथ
98
Shares

काठमाडौं । विशेष अदालतले सशस्त्र प्रहरी बल नेपालको कीर्तिपुरस्थित एपीएफ स्कुलको ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेका तत्कालीन लेखा प्रमुख सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामा तामाङलाई पाँचौंपटक म्याद थप गरेको छ । 

गत असार २० गतेदेखि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका लेखा अधिकृत सशस्त्र प्रहरी निरीक्षक गुरुङ र एमडी एडभेन्चर टुर्स एन्ड ट्राभल्ससमेतका सञ्चालक लामालाई जिल्ला सरकारी वकिल कार्यालयको साउन ७ गते र जिल्ला प्रहरी परिसर काठमाडौंको साउन ८ गतेको पत्रसाथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेस गरिएको थियो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ र १७ समेतले निषेध गरेको भ्रष्टाचारको कसुर अपराधको अनुसन्धान गर्न भनी उनीहरूलाई अख्तियारमा पेस भएकोमा सोहीबमोजिम आज साउन १० गते आइतबार म्याद थप अनुमति माग भएको थियो । त्यही अनुसार काठमाडौं जिल्ला अदालतबाट भएको म्याद थपको अवधिलाई समेत गणना गरी पाँचौँ पटक १० दिन म्याद थप भएको हो ।

विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, सदस्य हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासबाट म्याद थप भएको हो । आदेशबमोजिम आरोपी कल्पना गुरुङ र लीलाबहादुर लामा तामाङलाई न्यायिक हिरासतमा राख्न पठाइएको विशेष अदालतले जनाएको छ । 

विद्यालयमा लेखा अधिकृत रहेकी इन्स्पेक्टर गुरुङ र उनका साथी लामा मिलेर रकम हिनामिना गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएपछि उनीहरूलाई पक्राउ गरिएको थियो ।

सशस्त्र प्रहरीले कानुन शाखाका डीआइजी युवराज अर्यालको नेतृत्वमा सो सम्बन्धमा छानबिन समिति नै गठन गरेको थियो । समितिको प्रतिवेदनका आधारमा कल्पनाले आफ्नो साथीको बैंक खातामा रकम ट्रान्सफर गरेर अपचलन गरेको पाइएको थियो । त्यसपछि केही समय रकम फिर्ताका लागि समय दिइए पनि रकम फिर्ता नभएपछि सशस्त्र प्रहरीकै पत्रका आधारमा इन्स्पेक्टर गुरुङ र रकम चलाउने लामालाई काठमाडौं प्रहरीले पक्राउ गरेको असार २० गते पक्राउ गरेको थियो ।

इन्स्पेक्टर गुरुङले विद्यालयको रकम सशस्त्र प्रहरी कल्याण कोषमा नपठाई पटक–पटक व्यक्तिगत खातामा ट्रान्सफर गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो । उनी साढे ६ वर्षदेखि सो स्कुलको लेखा अधिकृतको जिम्मेवारीमा थिइन् । छानबिनका क्रममा उनले करिब ४ वर्षदेखि स्कुलको ११ करोड रुपैयाँ विभिन्न मितिहरूमा साथीको बैंक खातामा पठाएको खुलेको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?