बाढी-पहिरोको जोखिम बढेपछि कर्मचारीलाई अनिवार्य कार्यालय उपस्थित हुन मन्त्रालयको परिपत्र

लोकपथ
7
Shares

काठमाडौं । संघीय सरकारले जिल्ला समन्वय समिति र स्थानीय तहका कर्मचारीलाई विपद्को समयमा अनिवार्य रूपमा कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अविरल वर्षा, बाढी, पहिरोलगायत विपद्जन्य घटनाको जोखिम बढेपछि विपद् व्यवस्थापन, उद्धार, राहत, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन यस्तो परिपत्र गरेको हो ।

मन्त्रालयले जारी गरेको परिपत्रमा विपद्को संवेदनशील अवधिभर कर्मचारीलाई कार्यालय नछाड्न, नियमित उपस्थित भई आवश्यक समन्वय, सहजीकरण र निर्णय प्रक्रियामा सक्रिय रहन भनिएको छ ।

त्यस्तै, हाल बिदामा रहेका कर्मचारीले बिदा छोट्याएर यथाशीघ्र कार्यालयमा उपस्थित भई जिम्मेवारी सम्हाल्नुपर्ने उल्लेख गरिएको छ । विपद्सँग सम्बन्धित सूचना संकलन, उद्धार तथा राहत कार्य, क्षतिको विवरण र आवश्यक समन्वयका लागि जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, प्रदेश तथा संघीय निकायसँग निरन्तर सम्पर्क कायम राख्न पनि निर्देशन दिइएको छ ।

परिपत्रमा विशेष परिस्थितिमा कार्यालय छाड्नुपर्ने अवस्था आए सम्बन्धित निकायको पूर्वस्वीकृति लिएर मात्र जिम्मेवारीको उचित व्यवस्था गरी बाहिरिन भनिएको छ ।

मन्त्रालयले विपद्को समयमा स्थानीय तहका सेवा प्रवाह र उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन कर्मचारीको सक्रिय भूमिका आवश्यक रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?