आजको मौसम : केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

लोकपथ
21
Shares

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेकाले केही क्षेत्रमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । हिमाली भू-भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ भने पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ ।

यस्तै, कोसी,बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने विभागले जनाएको छ ।

विशेषगरी कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी, कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थान, मधेस र कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार राति कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी, खोला तथा पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?