काठमाडौं महानगरपालिकाको १९औँ अधिवेशन यही जेठ ३१ गते हुने

लोकपथ
21
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको १९औँ नगरसभा अधिवेशन यही जेठ ३१ गते हुने भएको छ । मंगलबार बसेको महानगरपालिकाको ५०औँ नगर कार्यपालिका बैठकले अधिवेशनको मिति तय गरेको हो ।

महानगरपालिकाका कार्यबाहक प्रमुख सुनिता डंगोलका अनुसार जेठ ३१ गते आइतवार बिहान ११ बजे राष्ट्रिय सभा गृहमा नगरसभाको १९औँ अधिवेशनको पहिलो बैठक बस्नेछ ।

बैठकमा अधिवेशन आह्वान सम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै डंगोलले राष्ट्रिय सभा गृहमा पहिलो बैठक सञ्चालन गर्ने प्रस्ताव पारित गरिएको जानकारी दिइन् ।

त्यसैगरी, बैठकले नेपाल भाषाको स्थानीय पाठ्यक्रम, बाल विकास तथा पूर्वप्राथमिक तहको पाठ्यक्रम पनि स्वीकृत गरेको छ ।

महानगरपालिकाका शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले समसामयिक सुधार तथा परिमार्जन समितिको २०८३ साल जेठ ४ गतेको निर्णय तथा शिक्षा तथा स्वास्थ्य समितिको जेठ २५ गतेको निर्णयअनुसार पाठ्यक्रम सिफारिस गरिएको बताए ।

उनका अनुसार काठमाडौं महानगरपालिका अन्तर्गतका विद्यालयहरूमा लागू गर्न नेपाल भाषाको स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक स्वीकृत गरिएको हो ।

काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरूमा कक्षा ८ सम्म नेपाल भाषाको पठनपाठन हुँदै आएको छ । अब उक्त पाठ्यक्रम पूर्वप्राथमिक तहमा समेत लागू गरिने महानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?