नेपालमा ब्रेन ट्युमरका बिरामी बढ्दै, एक वर्षमै ३ हजार शल्यक्रिया

लोकपथ
63
Shares

काठमाडौं । नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्युमरका बिरामीको संख्या निरन्तर बढ्दै गएको छ । ‘विश्व ब्रेन ट्युमर दिवस’का अवसरमा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष शल्यक्रिया गरिएका बिरामीको संख्या उल्लेख्य रूपमा वृद्धि भएको हो ।

राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष वरिष्ठ न्यूरोसर्जन डा. राजीव झा का अनुसार २०८२ सालमा देशभरका २० भन्दा बढी न्युरो केन्द्रमा गरिएको अध्ययनअनुसार करिब ३ हजार जनाको ब्रेन ट्युमरको शल्यक्रिया गरिएको छ । २०८१ सालमा यो संख्या २ हजार ६०० थियो ।

तथ्याङ्कअनुसार शल्यक्रिया गरिएका बिरामीमध्ये पुरुष १ हजार ५०२ र महिला १ हजार ४९८ जना रहेका छन् । सबैभन्दा बढी बिरामी ३० देखि ५० वर्ष उमेर समूहमा देखिएको छ । प्रदेशगत रूपमा बागमती प्रदेशमा मात्रै ३६.४ प्रतिशत शल्यक्रिया भएका छन् ।

विशेषज्ञहरूका अनुसार नेपालमा ब्रेन ट्युमरका प्रमुख प्रकारमध्ये ग्लियोमा सबैभन्दा धेरै देखिएको छ  । २०८२ मा उच्च ग्रेड ग्लियोमाको अनुपात ४३.१ प्रतिशतबाट बढेर ५५.९ प्रतिशत पुगेको छ । त्यसै गरी मेनिन्जियोमाका बिरामी पनि ७.४ प्रतिशतबाट बढेर २७.१ प्रतिशत पुगेका छन् ।

डा.झाका अनुसार ब्रेन ट्युमरका बिरामी बर्सेनि बढ्दै गएको देखिए पनि प्रारम्भिक चरणमै पहिचान र उपचार भए धेरै बिरामीको जीवन जोगाउन सकिन्छ । स्टेज १ र २ मा शल्यक्रियामार्फत उपचार सम्भव हुने भए पनि स्टेज ३ र ४ का बिरामीलाई शल्यक्रियासँगै थप थेरापी आवश्यक पर्ने उनले बताए ।

विशेषज्ञहरूका अनुसार निरन्तर टाउको दुख्नु, बिहान उठ्दा वाकवाकी वा बान्ता हुनु, दृष्टि धमिलो हुनु, स्मरण शक्ति कमजोर हुनु, सन्तुलन गुम्नु, अंगहरू कमजोर वा सुन्निनु तथा व्यवहार परिवर्तन हुनु ब्रेन ट्युमरका सम्भावित लक्षण हुन् । यद्यपि यी लक्षण सधैँ ट्युमरसँग सम्बन्धित नहुने भएकाले निरन्तर देखिएमा चिकित्सकीय परीक्षण आवश्यक हुन्छ ।

ब्रेन ट्युमरको कारण पूर्ण रूपमा स्पष्ट नभए पनि आनुवंशिक परिवर्तन, डीएनए क्षति, विकिरणको उच्च सम्पर्क तथा अन्य क्यान्सर शरीरबाट मस्तिष्कमा फैलिनु प्रमुख जोखिम कारक मानिन्छन् ।

निदानका लागि एमआरआई, सिटी स्क्यान, पीईटी स्क्यान, बायोप्सी तथा न्यूरोलोजिकल परीक्षणहरू प्रयोग गरिन्छ । सबै परीक्षण सबै बिरामीमा आवश्यक नपर्ने र चिकित्सकले अवस्थाअनुसार उपयुक्त विधि छनोट गर्ने विशेषज्ञहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?